Odapalika - The Fourth Estate - चौथो अंग
प्रधानमन्त्रीको शपथग्रहण ज्योतिषीले जुराइदिएको साइतमा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्दै छन् । गत शुक्रबार प्रतिनिधिसभाबाट विश्वासको मत पाउन नसकेपछि पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीबाट पदमुक्त भएसँगै राष्ट्रपति पौडेलले आइतबार बेलुका ५ बजेसम्म नेपालको संविधानको धारा ७६ (२)अनुसार गठन हुने मन्त्रिपरिषद्का लागि प्रधानमन्त्रीमा दाबी गर्ने संघीय संसद सदस्यलाई आह्वान गरेका थिए ।

यसपछि शुक्रबार नै कांग्रेस सभापति शेरबहादुर देउवाको समर्थनमा एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीमा दाबी पेस गरेका छन् । तर, राष्ट्रपति पौडेलले आफूले दिएको समयसीमा सकिएपछि मात्र प्रधानमन्त्रीमा ओलीलाई नियुक्त गर्ने तयारीमा छन् । 

आइतबार ओली प्रधानमन्त्रीमा नियुक्त हुने भए पनि शपथग्रहण भने ज्योतिषीले जुराइदिने साइतमा हुने भएको छ । प्रधानमन्त्रीमा नियुक्त भइसकेपछि मात्र साइत जुराउने तयारी भएको हाे । 

एमाले अध्यक्ष ओलीको सचिवालयबाट साइत हेराउने कार्य भएको छ । अध्यक्ष ओलीको सचिवालयबाट शपथग्रहणको साइतबारे जुराइदिन आफूलाई भनेको वास्तुविद् तथा ज्योतिष सुरेशचन्द्र रिजालले वडापालिकालाई जानकारी दिए । 

‘मलाई शपथग्रहणको साइतबारे सोधिएको थियो,’ उनले भने, ‘राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गरेपछि मात्र साइतबारे टुंगो लाग्छ ।’ 

सोमबार बिहान ११ बजेको साइतमा शपथग्रहण गर्ने कुरा भइरहे पनि प्रधानमन्त्रीमा नियुक्त भइसकेपछि मात्र टुंगो लाग्ने उनले जानकारी दिए । 

देउवाको ज्योतिषले चिनिए पनि रिजालसँग अन्य दलका नेताहरुले पनि उनीसँग सल्लाह गर्ने गरेका छन् । 
 

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  १७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update