Odapalika - The Fourth Estate - चौथो अंग
सडक डिभिजन कार्यालय लहानमा छिन्नमस्ता गाउँपालिकाका जनप्रतिनिधिको धर्ना 

काठमाडौं । सप्तरीको छिन्नमस्ता गाउँपालिकाका प्रमुखसहित  जनप्रतिनिधिहरूले सडक डिभिजन कार्यालय लहानमा धर्नामा बसेका छन् । ठेक्का लागेको लामो समय भइसक्दा पनि सडक नबाउँदा जनताले सास्ती पाएपछि आइतबार जनप्रतिनिधि नै धर्नामा बस्नुपरेको गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए । 

रुपनी–छिन्नमस्ता सडक निर्माणका लागि प्रधानमन्त्रीदेखि सबै सरोकारवालाको ध्यानाकर्षण गराउँदा पनि चासो नदिएकाले धर्नामा बसेको उनले बताए । 

‘रुपनी–छिन्नमस्ता सडक ठेक्का लागेको दुई वर्षभन्दा बढी भइसक्यो । यो बीचमा प्रधानमन्त्री, भौतिक पूर्वाधारमन्त्री, सडक विभागका डीजी, सडक डिभिजन लहानलाई पटक पटक भन्दा पनि नटेरेको, काम नगरेको,’ उनले वडापालिकासँग भने, ‘सडक नबन्दा वर्षाले सडक हिलाम्मे हुँदा सामान्य आवतजावतसमेत बन्द भएकाले बाध्य भएर धर्नामा बसेका हौँ ।’

‘रुपनी–छिन्नमस्ता सडक सडक निर्माण पूरा गर, लापरबाही गर्ने ठेकेदारलाई कारबाही गर, निर्माण काममा गम्भीरता देखाऊ’ लेखिएको ब्यानरसहित उनीहरु धर्नामा बसेका हुन् । 

सडक निर्माण नहुँदा प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवती मन्दिरसम्म पुग्न श्रद्धालुले ठूलो समस्या झेल्नु परेको अध्यक्ष चौधरीले जानकारी दिए । 

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  १७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update