Odapalika - The Fourth Estate - चौथो अंग
पदभार ग्रहण गर्दै स्वास्थ्यमन्त्री पौडेलले भने–अब अस्पतालहरूमा लाइन बस्नु पर्दैन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदभार ग्रहण गरेका छन् । सोमबार मन्त्रीमा नियुक्त भएर शपथ लिएपछि उनले स्वास्थ्य मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै मन्त्री पौडेलले क्यान्सर रोगीहरूको उपचारका लागि एकरुपता कायम गर्ने गरी उपचार प्रणाली विकास गर्ने प्रतिवद्धता जनाए । उपचार सेवा प्रदान गर्नका लागि विशेष कार्यक्रमहरु ल्याउने पनि उनले घोषणा गरे । 

उनले भने, ‘क्यान्सर रोगबाट धेरै नागरिकहरु पीडित भएको स्थिति छ । रोग लागेकाहरुलाई सुविधा दिने कुरा आर्फैमा जरुरी हो । त्यो सँगसँगै रोग लाग्न नदिनु अर्को जरुरी कुरा हो । क्यान्सर रोगको उपचारका लागि एकरुपता कायम गर्ने गरी हामीले त्यसको प्रणाली विकास गर्ने छौं । र उपचार सेवा प्रदान गर्नका लागि हामीले विशेष कार्यक्रमहरु ल्याउने छौँ । ’

उनले एक महिनाभित्र संघीय अस्पतालहरूमा लाइन बस्नु नपर्ने व्यवस्था गर्ने पनि प्रतिबद्धता जनाए । आफ्नो कार्यकाल मितब्ययी बनाउने उनले खादामाला भने ग्रहण गरेनन् ।

सो अवसरमा स्वास्थ्य सचिव रोशन पोखरेल म्याटरलाई बुझेर निर्णय गर्ने नवनियुक्त मन्त्रीको स्वभावलाई मन्त्रालयमा लागू गर्न पाए मन्त्रालयले प्रगती गर्नेमा आफू ढुक्क रहेको बताए । आगामी दिनमा देखिने गरेर परिवर्तनको अनुभुती मन्त्रालयले चाहेको र टिमवर्कबाट अघि बढ्नआफू तयार रहेको पनि बताए । 

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १४:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update