Odapalika - The Fourth Estate - चौथो अंग
गृहमन्त्री लेखकको पहिलो निर्णय : सिमलताल बस दुर्घटनाबारे अध्ययन गर्न कार्यदल गठन 

काठमाडौं । नवगृहमन्त्री रमेश लेखकले सिमलताल बस दुर्घटनाबारे अध्ययन गर्न पाँच सदस्यीय कार्यदल गठन गरेका छन् ।

सोमबार पद तथा गोपनीयताको शपथग्रहणपछि मन्त्रालय पुगेर पदभार ग्रहणसँगै गृहमन्त्री लेखकले सहसचिव छवि रिजालको नेतृत्वमा कार्यदल गठन गर्ने निर्णय गरेका हुन् । कार्यदलमा रिजालसहित तीनवटै सुरक्षा निकायका एक एकजना र भौतिक मन्त्रालयका एकजना रहनेछन् । उक्त कार्यदललाई १० दिनको समयसीमा दिइएको छ । 

चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा गत शुक्रबार बिहान काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको बस त्रिशूलीमा खसेका थिए । सडकमाथिबाट खसेको पहिरोले ती बसलाई त्रिशूलीमा खसालेको थियो । 

गौरतर्फ गइरहेको बसमा ३८ जना र काठामाडौँतर्फ गइरहेको बसमा २७ जना यात्रु सवार थिए । तीमध्ये तीनजना पौडिएर बाँच्न सफल भएका थिए । हालसम्म १२ जनाको शव भेटिएको भनिए पनि सबैको सनाखन हुन सकेको छैन भने अन्य यात्रु र बस फेला पार्न सकिएको छैन । 
 

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १६:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update