Odapalika - The Fourth Estate - चौथो अंग
उपप्रमुखको बहिष्कारबीच इटहरीका वडाध्यक्षले पढेको बजेट बहुमतले पारित 

काठमाडौँ । इटहरी उपमहानगरपालिकाले आर्थिक वर्षका २०८१/०८२ को बजेट पारित गरेको छ । असार १० गते नगरसभामा इटहरी–६ का वडाध्यक्ष दिवस पोखरेलले ३ अर्ब ५७ करोड ८४ लाख ५० हजार रुपैयाँको बजेट पेस गरेका थिए ।

असार मसान्तसम्ममा पारित गरिसक्नुपर्ने बाध्यात्मक व्यवस्था बमोजिम बहुमत नगरसभा सदस्यको समर्थनमा पास भएको मेयरको भनाइ छ । उपमहानगर उपप्रमुख सङ्गीता चौधरीले असन्तुष्टि जनाउँदै अनुपस्थित भएपछि वडाध्यक्ष दिवस पोखरेलले विनियोजन विधेयक र अर्थ विधेयकमा छलफल चलाएका थिए । 

बजेटमा सङ्घीय समानीकरण अनुदान २९ करोड ५६ लाख, सङ्घीय सशर्त अनुदान चालुतर्फ ४९ करोड ४३ लाख र सङ्घीय सशर्त अनुदान पुँजीगततर्फ  ८१ करोड ९३ लाख रुपैयाँ प्राप्त हुने उल्लेख छ । त्यस्तै सङ्घीय समपुरक अनुदान ४ करोड, सङ्घीय विशेष अनुदान ५ करोड रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ । 

प्रदेश समानीकरण अनुदान १ करोड ९४ लाख, प्रदेश सशर्त अनुदान चालु खर्चतर्फ ३२ लाख ३८ हजार, प्रदेश सशर्त अनुदान पुँजीगत खर्चतर्फ २ करोड ४४ लाख र प्रदेश समपुरक अनुदान १ करोड ७७ लाख रुपैयाँ आउने बजेटमा उल्लेख छ । 

सङ्घीय राजस्व बाँडफाँट १९ करोड ११ लाख, प्रदेश राजस्व बाँडफाँट (सवारी कर) २ करोड ३३ लाख र प्रदेश राजस्व बाँडफाँट (मालपोत रजिष्ट्रेशन)  ५६ करोड रुपैयाँ प्राप्त हुने अनुमानसहितको बजेट पारित भएको हो ।
 

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  ०९:११
प्रतिक्रिया दिनुहोस्
Weather Update