नेपालमा फोहोरको समस्या एक सहरी रोग बनेको छ । सबै सहरहरू कुनै न कुनै हिसाबले फोहोर व्यवस्थापनको उचित प्रक्रियाको बिषयमा अलमलमै छन् । राजधानी सहर र अधिक जनसंख्याको बसोबास भएका कारण काठमाडौं उपत्यका यस मामलामा सबैभन्दा बढि चर्चामा आउनु स्वभाविक हो ।
संस्कृति, वाणिज्य र समुदायको जीवन्त केन्द्रको रुपमा रहेर पनि यहाँका सडक, ऐतिहासिक स्थलहरू, नदीखोलाहरू र खुला रहेका सार्वजनिक तथा निजी जगगाहरूमा फोहोरको विसर्जन एक चिन्ताको बिषय बनेको छ । हरेक दिन काठमाडौं उपत्यकाले हाराहारी १५०० टन फोहोर उत्सर्जन गर्छ । यो मात्राको फोहोरले चुनौती त खडा गरेकै छ साथमा दिगोपनतर्फ हाम्रो दृष्टिकोणमा पुनर्विचार गर्ने अवसर पनि प्रदान गर्दछ ।
फोहोर व्यवस्थापनको क्षेत्रमा क्रियाशील संस्था ‘नेप्सेम्याक’ मा करीब साढेदुई दशक रहेर सँगालेको अनुभवका आधारमा मैले ल्यान्डफिलिङ्को पुरानो अभ्यासबाट थप समग्र समाधानतर्फ पाइला चाल्दै फोहोरलाई फोहोरको रुपमा मात्र नहेरी बहुमू्ल्य स्रोतहरूमा रूपान्तरण गर्नैपर्ने आवश्यकतालाई प्रत्यक्ष रूपमा देखिरहेको छु ।
हाल, काठमाडौं उपत्यकाको फोहोरको एक अधिकतम हिस्साले ल्यान्डफिलसाईटमा बास पाइरहेको छ । यो अभ्यास वातावरण, जनस्वास्थ्य र आर्थिक कुनै पनि हिसाबले उपयुक्त हैन । धेरैले यो प्रक्रियालाई वातावरणीय जोखिमको रुपमा मात्र हेर्ने गर्दछन् तर यसले बहुमूल्य स्रोतहरू पनि बर्बाद गरिरहेको छ ।
यदि व्यक्ति, संस्था र सरकारी निकायहरू मिलेर प्रयास गर्ने हो भने फोहोर व्यवस्थापनको बिषयमा हामी सर्कुलर इकोनोमीको नयाँ पाठ्यक्रम तयार गर्न सक्छौं, जहाँ फोहोरलाई बोझको रूपमा नभई नगदमा परिणत गर्न पर्खिरहेको बहुमूल्य सम्पत्तिको रूपमा देख्न सकिन्छ ।
उदाहरण दिएर भन्नुपर्दा प्लास्टिकको झोलाबाट डस्टबिन, प्लास्टिकको बोतलबाट फाइबरको कपडा, जैविक फोहोरबाट बायोग्याँस तथा कम्पोस्ट, टायर तथा रबरबाट खेल मैदानको सतह, कागजबाट प्याकेजिङ सामग्री, सिसाबाट निर्माण सामग्री, काठको फोहोरबाट बायोमास ऊर्जा, इलेक्ट्रोनिक फोहोरबाट बहुमूल्य धातु, कपडाको फोहोरबाट नयाँ कपडा, एल्युमिनियम क्यानबाट नयाँ क्यान, खाद्यान्नको फोहोरबाट पशुपंक्षीको दाना, फोहोर पानीबाट सिँचाइ सुविधा, निर्माणजन्य फोहोरबाट निर्माण सामग्री आदि प्राप्त गर्न सकिन्छ ।
मैले यस लेखमा व्यक्ति, संस्था र सरकारले के कस्तो भुमिका निर्वाह गरेमा फोहोर व्यवस्थापन उचित तवरले हुन्छ र स्रोतको रुपमा सदुपयोग समेत गर्न सकिन्छ भनेर केलाउने प्रयास गरेको छु । तल उल्लेखित विधिमा व्यक्ति, संस्था र सरकार तीनवटै पक्षले तदारुकता देखाउने हो भने काठमाडौं लगायत देशका जुनसुकै सहरहरू हामीले चाहेजस्ता बन्ने कुरामा सन्देह रहन्न ।
व्यक्तिगत कार्यहरू
फोहोर व्यवस्थापनमा सक्रिय भूमिका खेल्न व्यक्तिहरू स्वयम् नै सशक्त बन्न जरुरी छ । यहाँ केही सरल तर प्रभावकारी उपायहरू छन् जुन काठमाडौँ उपत्यकाका बासिन्दाहरूले अपनाउनु पर्दछ ।
१) स्रोतमा पृथकीकरणः स्रोतमा कागज, प्लास्टिक, गिलास, र जैविक फोहोर जस्ता पुनः प्रयोग गर्न मिल्ने सामग्रीहरू अलग अलग राखेर, व्यक्तिहरूले रिसाइकल प्रक्रियालाई सुव्यवस्थित गर्न र प्रदूषणलाई कम गर्न सक्छन् ।
२) कम्पोस्टिङः जैविक फोहोरलाई पोषक तत्वले भरिपूर्ण कम्पोस्टमा परिणत गर्नाले ल्यान्डफिलसाइटको आयु मात्र बढ्दैन कि बगैंचा र कृषिको लागि बहुमूल्य स्रोत पनि उत्पादन हुनजान्छ । घरपरिवारलाई आफ्नो भान्साको फोहोरलाई कम्पोष्ट बनाउन प्रोत्साहन गर्दा फोहोर व्यवस्थापन प्रणालीको बोझलाई उल्लेखनीय रूपमा कम गर्न सकिन्छ ।
३) तीनआरको प्रयोगः हरेक मानिसले उपभोग घटाउने र वस्तुहरूको पुनः प्रयोग गर्ने जीवनशैली अपनाएर फोहोरको उत्पादनलाई उल्लेखनीय रूपमा रोक्न सक्दछ । पुनः प्रयोज्य झोलाहरू बोक्ने, रिफिल गर्न मिल्ने कन्टेनरहरू छनौट गर्ने, र सामानहरू फेर्नुको सट्टा मर्मत गर्ने जस्ता साधारण बानीहरूले महत्वपूर्ण भिन्नता ल्याउन सक्दछन् ।
४) शिक्षा र जागरूकताः फोहोर व्यवस्थापन अभ्यासहरूमा जागरूकता अभियानहरू र शैक्षिक पहलहरू प्रवद्र्धन गर्नाले समुदाय भित्र दिगोपनको संस्कृतिलाई बढावा दिन सकिन्छ, यसले व्यक्तिहरूलाई सशक्त पनि बनाउँछ ।
संगठनात्मक पहलहरू
व्यापारिक घराना, संस्था र सामुदायिक समूहहरूले पनि फोहोरबाट स्रोत सम्बन्धी अभ्यासहरू तर्फ निर्णायक भूमिका खेल्न सक्दछन् । तिनीहरूले गर्नसक्ने योगदानहरू निम्नानुसार हुन सक्दछन् ।
१) फोहोर सम्बन्धी लेखापरीक्षणः नियमित रूपमा फोहोर सम्बन्धी लेखापरीक्षणहरू सञ्चालन गर्नाले संस्थाहरूलाई फोहोर घटाउन र अन्य विकल्पहरू पहिचान गर्न मद्दत पुग्छ । फोहोर प्रवाहको मात्रा विश्लेषण गरेर, व्यवसायहरूले फोहोर उत्पादनलाई न्यूनीकरण गर्न र स्रोत रिकभरी गर्नको लागि रणनीतिहरू लागू गर्न सक्दछन् ।
२) सहयोग र साझेदारीः स्थानीय फोहोर प्रशोधकहरू, कम्पोस्टिङ सुविधाहरू र फोहोरबाट ऊर्जा प्लान्टहरूसँग साझेदारी गठन गर्नाले एक यस्तो प्रणाली सिर्जना गर्न सकिन्छ जहाँ फोहोरलाई कुशलतापूर्वक नयाँ उत्पादन वा ऊर्जामा रूपान्तरण गरिन्छ । व्यवसाय र गैरसरकारी संस्थाहरू बीचको सहकार्यले पनि नवीन समाधानहरू र साझा स्रोतहरू निम्त्याउन सक्छ ।
३) हरित खरिद नीतिहरूः वातावरणमैत्री उत्पादनहरू र प्याकेजिङलाई प्राथमिकता दिने हरित खरिद नीतिहरू अपनाएर फोहोर उत्पादनलाई न्यूनीकरण गर्न सकिन्छ । न्यूनतम प्याकेजिङ्गका साथ उत्पादनहरू चयन गरेर वा पुनः प्रयोग गर्न मिल्ने र माटोमा सजिलै गल्नसक्ने सामग्रीहरू छनौट गरेर, संगठनहरूले आफ्नो वातावरणीय योगदान प्रदान गर्न सक्दछन् ।
४) कर्मचारी संलग्नताः प्रशिक्षण कार्यक्रमहरू, प्रोत्साहन योजनाहरू, र सामुदायिक सफाई अभियानहरूमा सहभागिता मार्फत फोहोर कम गर्ने पहलहरूमा कर्मचारीहरूलाई संलग्न गराउनाले फोहोर व्यवस्थापनप्रति स्वामित्व र सामूहिक जिम्मेवारीको भावना बढाउन सकिन्छ ।
५) सामाजिक उत्तरदायित्वः जुनसुकै उद्देश्य राखेर खोलिएको संस्था होस् वा जुनसुकै व्यवसायिक घराना होस् आफ्नो कर्ममा फोहोर व्यवस्थापन कार्यलाई अनिवार्य सामाजिक उत्तरदायित्वको रुपमा लिई आफ्नो र आफ्नो संस्था रहेको समाजमा फोहोर व्यवस्थापनमा सर्वोचित प्रयत्न गर्ने गरेमा फोहोर व्यवस्थापन र स्रोत परिचालनमा ठूलो योगदान पुग्नजान्छ ।
सरकारी सहयोग
व्यक्तिगत र संगठनात्मक प्रयासहरू त महत्वपूर्ण छँदै छन् फोहोरको दिगो व्यवस्थापनमा अर्थपूर्ण प्रगतिको लागि सरकारको सहयोगी नीति र पूर्वाधार आवश्यक छ । यहाँ मैले केही प्रमुख सरकारी सहयोग तथा हस्तक्षेपहरूबारे उल्लेख गरेको छु जसले फोहोरलाई स्रोतमा परिणत गर्दै फोहोरको दीगो व्यवस्थापन गर्न ठूलो आधार प्रदान गर्दछ ।
१) एकीकृत फोहोर व्यवस्थापन योजनाहरूः फोहोर घटाउने, रिसाइक्लिङ्ग, कम्पोष्टिङ, र फोहोरबाट ऊर्जा सम्बन्धी पहलहरू समावेश गर्ने व्यापक फोहोर व्यवस्थापन योजनाहरू विकास गर्दै दिगो फोहोर व्यवस्थापन अभ्यासहरूको लागि प्रष्ट मार्ग प्रदान गर्न सक्दछ ।
२) पूर्वाधार विकासः रिसाइक्लिंग केन्द्रहरू, कम्पोष्टिङ प्लान्टहरू, र फोहोरबाट ऊर्जा प्लान्टहरू जस्ता पूर्वाधारहरूमा लगानी गर्नाले स्रोत पुनः प्राप्तिको लागि अवसरहरू सिर्जना गर्न र ल्यान्डफिलहरूमा निर्भरता कम गर्न सक्दछ । फोहोर सङ्कलन स्थलहरू र सहज यातायात प्रणालीको प्रबन्धले पनि फोहोर सङ्कलन र प्रशोधन दक्षता सुधार गर्न सकिन्छ ।
३) नियम कानून र कार्यान्वयनः फोहोर व्यवस्थापनका लागि नियमहरू र मापदण्डहरू लागू गर्दै, स्रोतमा अनिवार्य फोहोर विभाजन, उत्पादक जिम्मेवारी योजनाहरू, र ल्यान्डफिलको बिकल्पका लक्ष्यहरू सहित, नियम पालनलाई प्रोत्साहन दिन र दिगोपनतर्फ प्रगति गर्नका लागि सरकारी हस्तक्षेप जरुरी छ ।
४) जनचेतना र शिक्षाः सरकारले फोहोर पृथकीकरण, रिसाइकल र कम्पोस्टिङ सम्बन्धी जनचेतनामूलक अभियानहरू र शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्नाले नागरिकहरूलाई दिगो फोहोर व्यवस्थापन अभ्यासहरूमा सहभागी हुनको लागि ज्ञान र उपकरणहरू प्रदान हुनसक्छ ।
अन्त्यमा भन्नुपर्दा, फोहोरलाई स्रोतको रुपमा परिचालन गर्न हामीले फोहोरलाई कसरी बुझ्छौं र कसरी व्यवस्थापन गर्छौं भन्ने सन्दर्भ केलाउनै पर्दछ । व्यक्ति, संस्था र सरकारी निकायको सामूहिक प्रयासबाट मात्र कुनैपनि सहर दिगो फोहोर व्यवस्थापनको नमुना बन्न सक्छ । फोहोरलाई अब विसर्जन गर्नुपर्ने समस्याको रुपमा नभई सदुपयोग गर्नुपर्ने बहुमूल्य स्रोतका रूपमा हेर्न जरुरी छ । कतियप कुरामा सरकारी हस्तक्षेप अपरिहार्य छ । आउनुहोस् हामी सबै मिलेर आगामी पुस्ताका लागि सफा, हरियाली र थप सुन्दर भविष्यतर्फको यो यात्रामा अघि बढौं ।
(लेखक नेप्सेम्याकका प्रवक्ता हुन् ।)