Odapalika - The Fourth Estate - चौथो अंग
यी प्रशासकीय अधिकृतः जहाँ जान्छन् बद्नाम हुन्छन् 

महोत्तरी । स्थानीय तहमा कार्यरत एउटा प्रमुख प्रशासकीय अधिकृतले  कायाृलय कुशल ढंगले चलाउन नियम, कानुन सिकेको हुनुपर्छ  तर घमण्ड र अभिमान सिकेको प्रमुख भयो भने कार्यालयको अवस्था कस्तो होला ?

थाहा पाउन मधेशका दर्जनौ पालिकावाट लखेटिएर र अहिले बर्दिवास नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत धर्मानन्द जोशीको कार्यकुशलतालाई हेरे पुग्छ ।

सेवाग्राहीहरुको काम सहज ढंगले नगर्ने, सानासाना विषयहरुमा अल्झाइराख्ने र कर्मचारीहरुप्रति तल्लोस्तरको व्यवहार गर्ने प्रवृतिका कारण उनी  लामो समयसम्म कतै टिक्न सक्दैनन् ।

छोटो समयमा दर्जनौ पालिकामा जानु र लामो समयसम्म काम गर्न नसक्नुले यसलाई पुष्टि गर्दै आएको छ ।

महोत्तरीमा जोशीको विवादास्पद छवि भंगाहा नगरपालिकावाट प्रारम्भ हुन्छ । झण्डै १६ महिना भंगाहा नगरपालिकामा काम गरेका जोशीको उक्त अवधि विवाद नै विवादमा सकियो । सम्भवतः यो नै जोशीले काम गरेको सवैभन्दा लामो समय पनि हुन सक्छ ।

कहिले काम नै नसकी भुक्तानी दिएको, कहिले सेवाग्राहीसँग झगडा त कहिले वडा अध्यक्ष, नगरप्रमुखसगँको विवादमा अल्झिरहने जोशीले कहिल्यै सेवाग्राही, जनप्रतिनिधि र कर्मचारीको सहयोग प्राप्त गर्न सकेनन् । 

काम नै नसकाई एउटा विद्यालय वनाउने क्रममा गुपचुप झन्डै १६ लाख भुक्तानी दिएको आरोपमा उनीविरुद्ध स्थानियहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत दिएका थिए ।

त्यहाँवाट उनको बहिगर्मन पनि नगरप्रमुख सन्जिव साहसँगको विवाद कै कारण भयो । आफ्ना नगरवासीलाई गर्ने व्यवहार र कर्मचारीहरुलाई गर्ने व्यवहारको विषयमा वाक्लै गुनासो आउन थालेपछि  नगरवाट हटाएको नगरप्रमुख साह बताउँछन् ।

आफुलाई अनुकुल हुदाँ नियम कानुन मिचेर काम गर्ने र अनुकुल नहुदा नियमअनुसार काम नगरेको आरोपमा  स्थानीयहरुले प्रतिरोध गर्न सुरु गरेका थिए ।

नगरवासीहरुले कानुन नै हातमा लिएर जोशीविरुद्ध उत्रने सुइँको पाएपछि अगाडि नै हतारहतार हटाउनु परेको नगरप्रमुख साह स्वीकार गर्छन् ।

भंगाहावाट निकालिएका जोशी बर्दिवासमा

भंगाहा नगरपालिकामा निक्कै विवादास्पद छवि बनाएर बहिगर्मन भएका जोशी पहिलेदेखि नै बर्दिवास नगरपालिकामा आउन चाहन्थे । तत्कालीन मेयर बिदुर कार्की हुँदा केन्द्रमा (संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय)मिलाएर नगरपालिकामा त आए तर नगरप्रमुखले हाजिर हुनै दिएनन् ।

हाजिर हुन नपाएपनि उनी जवर्जस्त कार्यालयमा आउन त आए तर मेयर कार्कीले आर्थिक कारोवार र  निर्णयको भूमिका दिएनन् । 

‘जिम्मेवारीविहिन भएर बस्नुभन्दा उनी आफैले बाटो खोजे अनि  बर्दिवासवाट बाहिरिए,’ पूर्वनगरप्रमुख बिदुर कार्कीले भने, ‘मलाई त्यो बेला उनको व्यवहार ठीक लागेको थिएन र उनले नगरमा कर्मचारी र जनप्रतिनिधिसँग मिलेर काम गर्न सक्छन् भन्ने नलागेपछि मैले हाजिर नगराएको हो । ’

त्यसपछि क्षेत्रीले ल्याए जोशी

बर्दिबास नगरपालिकाका मेयर क्षेत्रीकै पहलमा उनी पुनः  बर्दिवासमा हाजिर भए । कार्यालयमा औपचारिक प्रवेश गरेलगत्तै एकजना कर्मचारीसँगको विवादका कारण उनी हातपातमा समेत परे ।

जोशीको व्यवहारका कारण रिटायर्ड हुन नै लागेका कर्मचारीले हातपात गरेपनी आन्तरिकरुपमा नै त्यसलाई मिलाइएको थियो ।

‘तँ भन्ने, हेप्ने र तल्लोस्तरको  व्यवहार मैले भोगेको नै थिइन् । अनि  हात छाडन बाध्य भएँ,’  नाम नखुलाउने शर्तमा ती कर्मचारीले वडापालिकासँग भने ।

नगरपालिकालाई बदनाम बनाउँदैछन् जोशी

आफुलाई ऐन, कानुनको वौद्धिक भनेर स्वघोषणा गर्ने जोशीले अहिले बर्दिवासलाई समेत अफ्ठ्यारोमा पारेका छन् ।

रातु खोलाको नदीजन्य पदार्थ ठेक्का लगाउन उनले गरेको अवैधानिक सम्झौतादेखि यो अवधिमा जोशीले गरेका निर्णय र भुक्तानी समेत अवैधानिक देखिएका छन् ।

जनप्रतिनिधिहरु योजना वनाउने र उक्त योजनामा हस्तक्षेप गर्ने प्रवृतिका कारण नगरप्रमुख समेत अहिले असन्तुष्ट छन् । नगरप्रमुखको सचिवालयका एक सल्लाहकार जोशीको सेवाग्राही र कर्मचारीलाई गर्ने विषयमा जानकार रहेको बताउँछन् ।

जनप्रतिनिधिहरुलाई बाध्य बनाएर कानुनविपरित हस्ताक्षर गर्न लगाएको अहिले नगर क्षेत्रमा चर्चाको विषय बनेको छ । जफत गर्नुपर्ने राजस्वलाई रकमान्तर गरेर पर्यटन शीर्षकवाट भुक्तानी दिएका जोशीले नगरसभावाट पास गराउन बाध्य बनाएका थिए ।

जुन विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा तानिएपछि उनकै कारण जनप्रतिनिधिहरुले बयान दिइरहेका छन् ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा पनि जोशीमाथि दर्जनौ प्रश्न चिन्ह खडा गरेको छ । ठेक्का पाएका हुन् या निकासी आय ठेक्का पाएका कम्पनीलाई जोशीले असुल गर्नुपर्ने पैसा समेत असुल गर्न सकेका छैनन् । जसले गर्दा नगरपालिकालाई करोडौं घाटा परेको छ ।

‘जोशी बर्दिवासमा नै रहने हो भने हरेक जनप्रतिनिधिहरुलाई अख्तियार र अदालत धाउदा धाउदै कार्यकाल सकिने देखियो,’ स्थानिय निरज अधिकार भन्छन्, ‘उनको व्यवहार सेवाग्राहीसाग पनि गतिलो भएन ।’

अर्का स्थानिय तथा समाजसेवी फाल्गुन सुस्लिङ्ग मगर एउटा प्रशासन प्रमुखमा हुनुपर्ने गुणहरु जोशीमा नभएको बताउछन् । ‘व्यवहार निक्कै रुखो छ, आफुलाई मात्र जान्ने बुझ्ने भनेर स्वघोषणा गर्ने जोशीमा ठूलो अभिमान रहेछ,’ उनी भन्छन् । 

जहाँ जान्छन् बदनाम भएर लखेटिन्छन्

जोशी जाँहा गए पनि विवादित र कलंकित बनेको कुनै ठाउँ छैन । जसको कारण छोटो समयमा धेरै कार्यालयबाट लखेटिएका प्रसस्त उदाहरण छन् ।

उनी केही समय सर्लाहीको लालबन्दी नगरपालिकामा समेत गए तर तत्कालीन नगरप्रमुख बासुदेव अधिकारीले समेत उनलाई हाजिर गर्न रोक लगाएका थिए ।

वेलका, राजविराजजस्ता ठाउँमा समेत सन्तुलित काम गर्न नसकेपछि उनलाई निकालिएको थियो । तनहुँमा उनीकेही समय प्रमुख जिल्ला अधिकारी समेत वने ।

प्रमुख जिल्ला अधिकारी बनेपछि सेवाग्राहीलाई गर्ने तल्लोस्तरको व्यवहारका कारण त्यहाँका स्थानीयहरुले जोशीलाई कालोमोसो समेत लगाएर निकालेको बताइन्छ ।

तत्कालिन समयमा कामको शिलशिलामा तनहँु पुगेका एमालेका नेता चन्द्रलाल क्यापछाकी उनको कार्यकुशलता त्यति चित्तबुझ्दो नरहेको बताउँछन् ।

उनले पोखरियामा काम गर्दा होस् या रौतहट जिल्लामा सहायक सिडिओ हुँदा समेत काम गर्न नसकेको कारण निक्कै विवादास्पद छवि वनाएर वाहिरिएका थिए । 

उता बझाङमा प्रमुख जिल्ला अधिकारी हुँदा त निर्वाचनको समयमा मतपेटिका नै लिएर बेपत्ता भएको आरोप लागेको थियो । तत्कालीन समयमा उनी रक्सी खाएर सुतेको र मतपेटिका वेवारिसे छाडेको उनीमाथी आरोप लागेको थियो ।

असहायको लागि आएको पैसा भाग लगाउने गरेको खुलासा

उनले ज्यालादारीमा राखेको एक जना कर्मचारीलाई प्रष्टिकरणको मौका समेत नदिइकन हालै निकालेको समेत पाइएको छ ।

भुक्तानी दिनुपूर्व आफैँले त्यसको चेकजाँच गर्नुपर्ने प्रावधान भएता पनि एक जना असहायलाई दिनुपर्ने २५ हजार रुपैयाँ कर्मचारीको नै मिलोमतोमा बाँडफाँड भएको खुलासा भएको हो ।

आफुलाई निक्कै कडा प्रशासककोरुपमा उभ्याउने जोशीको कार्यक्षमतालाई बर्दिवास नगरपालिकामा देखिएको यो वेथितिले गिज्याईरहेको स्थानीयहरु बताउछन् ।

‘बर्दिवासमा नियमविपरित गएर गर्ने चाहे त्यो हाकिम होस चाहे कर्मचारी, सह्य हुन सक्दैन,’ स्थानीय शंकर फुयालले भने । 

जोशीको अवधिको महालेखा परीक्षकको प्रतिवेदन  तुलनात्मकरुपमा अध्यन गर्ने हो भने करोडााैँ रुपैयाँको सैद्धान्तिक बेरुजु र अनियमितता भएको देखिएको छ ।

सोमबार जोशीको कार्यकक्षमा पुग्दा केही कर्मचारी र सेवाग्राहीहरु लाइनमा थिए । काम सकिएपछि हामीले बर्दिवासमा अहिले व्यक्तिको जग्गावाट उत्त्खनन गरिएको माटो तथा नदीजन्य पदार्थको बिषयमा जिज्ञासा राख्यौँ ।

मुल बिषयमा प्रवेश नै नगरी उनले हप्कीदप्की गरेर फकाईदिए ।  प्रक्रियामा आएर राजश्व जम्मा भएको छ कि छैन भन्ने प्रश्नमा जोशी कल्पनाको आधारमा प्रश्न नसोध्न भन्दै विषयबस्तुबाट पन्छिए । यति भने, ‘यो देशमा सबै पत्रकार परिकल्पना गर्छन् तथ्यमा आधारित हुदैनन् ।’

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १३:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update