Odapalika - The Fourth Estate - चौथो अंग
ललितपुर महानगरले ११ महिला समूहलाई २८ लाख बाँड्यो, एउटैलाई ९ लाख प्रदान 

काठमाडौं । ललितपुर महानगरपालिकाले विभिन्न ११ महिला समूहलाई २८ लाख रुपैयाँ बाँडेको छ । ललितपुर महानगरले आर्थिक वर्ष २०७८/०७९ मा ११ महिला समूहलाई विभिन्न कार्यक्रमका लागि २८ लाख रुपैयाँ भुक्तानी गरेको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ । 

सार्वजनिक खरिद नियमावली २०६३ को दफा नं २९ अनुसार सार्वजनिक निकायले सम्बन्धित् सार्वजनिक्र निकायमा उपलब्ध जनशक्तिबाट कुनै काम हुन नसक्ने भएमा कुनै व्यक्ति, फर्म, संस्था वा कम्पनीबाट परामर्श सेवा खरिद गर्न सक्ने व्यवस्था रहेको छ । 

ललितपुर महानगरले विभिन्न तालिम तथा सिपमुलक कार्य गर्नको लागि खरिद योजनाअनुसार परामर्श छनौट गरी कार्य गराउनुपर्नेमा महिला समूहकै नाममा बजेट विनियोजन गरी भुक्तानी दिएको महालेखापरीक्षकको प्रतिवेदनमा भनिएको छ । 

कार्यक्रम सञ्चालन गरी प्रमाण कागजातको आधारमा रकम भुक्तानी गर्नुपर्नेमा सो नगरी पालिकाले महिला समूहको नाममा बजेट विनियोजन गरी उक्त समूहले कार्यक्रम सञ्चालन गरेको भनी पेस गरेको प्रमाणको आधारमा भुक्तानी गरी २८ लाख अनियमित भएको प्रतिवेदनले कमजोरी औँल्याएको छ । 

कुन समूहले कति पाए ?

ललितपुर महानगरले सबैभन्दा बढी दक्षिणकाली महिला समूह नामक महिला समूहलाई विभिन्न शीर्षकमा करिब ९ लाख रुपैयाँ दिएको छ । महालेखापरीक्षको प्रतिवेदनअनुसार दक्षिणकाली महिला समूहलाई ८ लाख ९५ हजार ८०४ रुपैयाँ महानगरले दिएको छ । 

जसअनुसार, दक्षिणकाली महिला समूहलाई तीन महिने ब्युटिसियन तालिम गर्न २ लाख ५० हजार, क्षमता अभिवृद्धि कार्यक्रमका लागि ९७ हजार ८०४, तीन महिने ब्युटिसियन तालिमका लागि ३ लाख र सुइटर बनाइ तालिमका लागि २ लाख ४८ हजार रुपैयाँ ललितपुर महानगरले भुक्तानी दिएको हो । 

यस्तै, समूहमा आवद्ध सदस्यलाई कम्पोस्ट मल बनाउने तालिमका लागि लोकतान्त्रिक महिला समूहलाई ५० हजार रुपैया दिएको छ ।

यस्तै, सफल महिला समूहलाई झोल साबुन बनाउन ५० हजार, चपट महिला समूहलाई उद्घोष तालिमका लागि ५० हजार, ज्वागल महिला समूहलाई उद्घोषण तालिमका लागि १ लाख ७० हजार, सिद्धिविनायक महिला समूहलाई साबुन बनाउने एडभान्स कोर्स गर्न १ लाख, झम्सिखेल महिला समूहलाई जुत्ता बनाउने तालिम गर्न १ लाख, सृष्टि महिला समूहलाई डल्लो साबुन बनाउने तालिमका लागि १ लाख रुपैयाँ महानगरले दिएको छ । 

यस्तै, महिला सञ्जाललाई सञ्जाल सदस्यका लागि भ्रमण लगायत सामाग्री खरिद गर्न ८ लाख, किरण भवन महिला समूहलाई ब्युटिसियन तालिम सञ्चालन गर्न १ लाख, थसिखेल महिला समूहलाई एडभान्स सिलाइ तालिम सञ्चालन २ लाख ९६ हजार ९५० रुपैयाँ दिइएको छ । 

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १५:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update