Odapalika - The Fourth Estate - चौथो अंग
मधेश मुख्यमन्त्रीका भान्जाले कुटे उपमेयर

बारा । जिल्लाको दक्षिणी भेगमा रहेको पचरौता नगरपालिकाका उपमेयर नसिमा खातुन र उनका श्रीमानमाथि स्थानीय जनप्रतिधिकै संलग्नतामा आक्रमण भएको छ । 

शनिवार साँझ दलबलसहित खातुनको घर पुगेका वडा नम्बर २ का वडाअध्यक्ष मनोज यादव नेतृत्वको टोलीले आक्रमण गर्दा उपमेयर खातुन र उनका श्रीमान घाइते भएको मेयर जालन्धर सिंह जैसवारले वडापालिकालाई बताए । 

घाइते उपमेयर र उनका श्रीमानकाे बीरगंजस्थित न्युरो अस्पतालमा उपचार भइरहेको जनाइएको छ । उपमेयरका श्रीमान गम्भीर घाइते भएको मेयरको भनाइ छ भने आक्रमणको अभियोग लागेका वडाध्यक्ष मनोज यादवले भने उपमेयरका श्रीमानले नाटक गरेको बताएका छन् । 

वडाअध्यक्ष यादव मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवका भान्जा हुन् । उनी जसपाका तर्फबाट निर्वाचित जनप्रतिनिधि हुन भने मेयर र उपमेयर एमालेका तर्फबाट निर्वाचित भएका हुन् । 

मेयरका अनुसार वडाध्यक्ष यादवले आफ्ना काका राजमंगल यादव, छोराहरु जितेन्द्र र कपिलदेवलगायतको टोलीले उपमेयरमाथि आक्रमण गरेका हुन् । 

तर वडाअध्यक्ष यादवले भने क्रिकेट खेलाडीलाई रकम वितरण गर्ने विषयमा भएको सामान्य विवादमा उपमेयर निकट भनिएका भोला मियाँ र पन्नलाल कानुले नै खेलाडी र स्थानीय युवामाथि हातपात गरेपछि सामान्य घम्साघम्सीमात्र भएको हो । 

तर मेयर जैसवार भने उपमेयरमाथि वडाध्यक्षको नेतृत्वमा हालसम्म ३ पटक आक्रमण भइसकेको बताउँछन् । 

उनले पटक पटक आक्रमण हुँदापनि वीरगंजका एसपी होविन्द्र वोगटीले जाहेरी दर्ता गर्न नमानेको भन्दै जसपा अध्यक्ष उपेन्द्र यादवको मिलेमतोमा मुख्यमन्त्रीका भान्जा नाता पर्ने वडाअध्यक्षमार्फत उपमेयरमाथि आक्रमण भइरहेको दाबी गरे ।  प्रहरीले भने घटनाको अनुसन्धान भइरहेको बताएको छ । 

वडाध्यक्ष र मेयर दुबैका अनुसार उपमेयरका छोरा क्रिकेट खेलाडी हुन् । उपमेयरले विदेशमा खेल्न जाने भन्दै छोराको नाममा नगरपालिकाबाट १ लाख ५० हजार रुपैयाँ रकम निकासा गरिन् । तर अन्य क्रिकेट खेलाडीलाई भने मागेको रकम नदिने बताएपछि खेलाडीहरुले उपमेयरसँग आक्रोस व्यक्त गर्दै आएका छन् । 

शनिवार साँझपनि यो विषयमा विवाद भएको र प्रहरी चौकीसम्म घटना पुगेको वडाअध्यक्ष बताउँछन् । स्थानीयहरु उपमेयरको घरमा भेला भएपछि आफु त्यहाँ पुगेर झगडा मिलाउने प्रयाससम्म गरेको तर मेयरले भनेजस्तो आफ्नो संलग्नतामा आक्रमण नभएको उनको भनाइ छ । 


 

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update