काठमाडौं । सडक विभागको क्षेत्राधिकार मिचेको भन्दै रोकेको काठमाडौं महानगरपालिकास्थित न्युरोड क्षेत्रको फुटपाथ विस्तारको कार्य फेरि सुरू भएको छ ।
काठमाडौं महानगरपालिकाले बुधबारबाट न्युरोड क्षेत्रको फुटपाथ विस्तारको काम सुरु गरेको हो । उच्च अदालतको आदेशपछि महानगरले फुटपाथ विस्तारको काम सुरू गरेको महानगरका सहायक प्रवक्ता दीपक अधिकारीले वडापालिकालाई जानकारी दिए ।
‘फुटपाथ विस्तार नरोक्न उच्च अदालतको आदेश आइसकेको छ । सो आदेश आएसँग आजबाट हामीले फुटपाथ विस्तारको काम थालेका छौँ,’ सहायक प्रवक्ता अधिकारीले भने ।
महानगरले फुटपाथ विस्तारका लागि भत्काएको स्थानमा क्षेत्राधिकार मिचेको भन्दै सडक विभागअन्तर्गतको सडक डिभिजन कार्यालयले कालोपत्रे गरेको थियो । सडक डिभिजन कार्यालयको हस्तक्षेपको विरोधमा महानगरपालिकाले उच्च अदालत पाटनमा रिट दर्ता गराएको थियो ।
रिटमाथि सुनुवाइ गर्दै उच्च अदालतले सहरी सडक स्थानीय तह मातहतमा रहने भन्दै न्यूरोडमा फुटपाथ विस्तारको काम नरोक्न अन्तरिम आदेश दिएको थियो ।
महानगर र विभागबीचको विवाद दोस्रो तहको अदालतले टुंग्याएको छ । अदालतको सो आदेशसँगै महानगरलाई फुटपाथ विस्तार कार्यका लागि बाटो खुलेको हो ।