Odapalika - The Fourth Estate - चौथो अंग
वातावरण संरक्षणका लागि खुल्यो ‘ग्रीनसिफ्ट एम्बेस्डर’को अवसर 

काठमाडौँ । ईयूको सहयोगमा क्रिएसन नेपालले ‘ग्रीनसिफ्ट एम्बेस्डर’ छनौटका लागि फारम आव्हान गरेको छ । ग्रीनसिफ्ट परियोजना अन्तर्गत वातावरण संरक्षण प्रति युवाहरुलाई सचेतना जगाउनका लागि ‘ग्रीनसिफ्ट एम्बेस्डर’ छनौटका लागि फारम आव्हान गरिएको हो । 

ईयूको सहयोगमा सञ्चालित ग्रीनसिफ्ट नेपाल परियोजनाको लक्ष्य र उद्देश्यहरू हासिल गर्न वृहत युवा संलग्नतालाई प्रवद्र्धन गर्नका लागि ‘ग्रीनसिफ्ट एम्बेस्डर’ एक महत्वपूर्ण पहलको रुपमा सावित हुने क्रिएसनका संस्थापक अध्यक्ष आनन्द मिश्रले बताए ।

अध्यक्ष मिश्रले यस अभियान मार्फत बागमती, लुम्बिनी र मधेश प्रदेशसम्म परियोजनाको पहुँच विस्तार गर्दै वातावरण संरक्षण र फोहोरमैला व्यवस्थापनको क्षेत्रमा युवा वर्गलाई सहभागी गराएर वातावरण प्रति सचेतना बढाउने लक्ष्य राखेको बताए । 

परियोजनाका प्रमुख युनिस घिमिरेले ग्रीनसिफ्ट परियोजनाको भिजन अनुसार दिगो भविष्य निमार्णका लागि योगदान पुर्याउन युवाहरुको महत्वपूर्ण भूमिकाको बारेमा तीन प्रदेशका युवाहरूलाई सहभागी गराएर सशक्तिकरण र शिक्षित गर्नु रहेको बताए । 

परियोजना सञ्चालित बागमती, लुम्बिनी र मधेश प्रदेशबाट एक एक जना ‘ग्रीनसिफ्ट एम्बेस्डर’ युवालाई छनौट गरिनेछ । ‘ग्रीनसिफ्ट एम्बेस्डर’ छनौट भएका युवाहरुलाई आआफनो क्षेत्रमा स्थानीयसँग मिलेर वातावरण संरक्षण, वृक्षारोपण, युवा परिचालन, सामुदायिक सहभागिता र प्लास्टिकजन्य फोहोरमैला व्यवस्थापन क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्नेछन् । 

‘ग्रीनसिफ्ट एम्बेस्डर’ले स्थानीय सरकारका निकायहरू, शैक्षिक संस्थाहरू, सामुदायिक समूहहरू र स्थानीय बासिन्दाहरू लगायत विभिन्न सरोकारवालाहरूसँग सहकार्य र सामूहिक कार्यलाई बढावा दिन सक्रिय नेतृत्व प्रदान गर्नेछन् । 

‘ग्रीनसिफ्ट एम्बेस्डर’ले नीति र अभ्यासबीचको खाडललाई कम गर्न निर्णायक भूमिका निर्वाह गर्नेछन् । उनीहरुले दिगोपनका सिद्धान्तहरूलाई सुनिश्चित गर्दै प्रभावकारी रूपमा आफ्नो समुदायमा मूर्तकार्यहरूमा परिणत गर्नेछन् । ‘ग्रीनसिफ्ट एम्बेस्डर’ले नेतृत्वदायी भूमिका निर्वाह गर्दै वातावरणीय रूपमा जिम्मेवार नागरिकहरूको एक पुस्ता निमार्ण गरी सबैका लागि राम्रो, थप दिगो भविष्य सिर्जना गर्न प्रतिबद्ध हुनेछन् । 

फारम भर्नका लागि  https://greenshiftnepal.org/ लगइन गरी विस्तृत जानकारी लिन सकिन्छ । ईयूको सहयोगमा ग्रिनसिफ्ट परियोजना चार बर्ष समायवधिका लागि बागमी, मधेश र लुम्बिनी गरी तीन प्रदेशको विभिन्न नौ स्थानीय तहमा विभिन्न क्रियाकलप सञ्चालन गरिरहेको छ । क्रिएसनको नेतृत्वमा रेस्टलेस डेभलम्पमेन्ट र यूथ इनोभेसन ल्याब परियोजनाको कन्सोर्टियम पार्टनरका रुपमा छन् ।

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १७:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update