Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँ महानगरको राजस्व संकलनमा वृद्धि, एक दर्जन सूचक सकारात्मक

काठमाडौं । काठमाडौं महानगरपालिकाले गत आर्थिक वर्ष आन्तरिक राजस्व संकलनमा एक दर्जन सूचक सकारात्मक देखिएको छ । आर्थिक वर्ष २०७९/०८० को तुलनामा आर्थिक वर्ष २०८०/०८१ मा महानगरको आन्तरिक राजस्व संकलनमा एक दर्जन सूचक सकारात्मक देखिएको हो ।  

आर्थिक वर्ष २०८०/०८१ मा सम्पत्ति कर, घरबहाल कर, पर्यटन शुल्कलगायत शीर्षकमा राजस्व संकलन वृद्धि भएको छ भने भूमि कर, सम्पत्तिबहाललगायत केही शीर्षकमा भने राजस्व संकलन ऋणात्मक देखिएको छ । यद्यपि, गत आर्थिक वर्ष महानगरले आन्तरिक राजस्व संकलन ९.०१ प्रतिशतले बढी गरेको छ ।

यी हुन् सकारात्मक सूचक 

सम्पत्ति करमा गत आर्थिक वर्षमा १८ करोड ८३ लाख ५५ हजार ५९६ संकलन हुँदा अघिल्लो आर्थिक वर्षमा भने १६ करोड ६९ लाख ४१ हजार ६९ रुपैयाँ संकलन भएको छ । यो अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष १२ दशमलव ८३ प्रतिशतले बढी राजस्व संकलन हो । 

यस्तै, घरबहाल करमा अघिल्लो वर्ष ६४ करोड ८ लाख ४१ हजार ४८७ रुपैयाँ संकलन हुँदा गत आर्थिक वर्ष ७ दशमलव ८६ प्रतिशतले वृद्धि भई ६९ करोड १२ लाख ३० हजार ९८७ रुपैयाँ संकलन भएको काठमाडौं महानगरको विवरणमा उल्लेख छ । 

अन्य व्यक्तिगत आन्तरिक अनुदानमा अघिल्लो वर्ष ३७ लाख २६ हजार ८२५ राजस्व संकलन हुँदा गत आर्थिक वर्षमा ५.०२ प्रतिशतले वृद्धि भई ३९ लाख १३ हजार ७८५ रुपैयाँ संकलन भएको छ ।अन्य निकायबाट प्राप्त लाभांसमा अघिल्लो आथिएक वर्ष शून्य कर लिएको महानगरले गत आर्थिक वर्ष २ करोड २० लाख ५२ हजार १४६ रुपैयाँ राजस्व संकलन गरेको छ । 

पर्यटन शुल्कमा राजस्व संकलन ६६.७८ प्रतिशतले वृद्धि भएको छ । जसअनुसार अघिल्लो आर्थिक वर्षमा ४५ लाख ४७ हजार २०० रुपैयाँ संकलन हुँदा गत आर्थिक वर्षमा ७५ लाख ८४ हजार रुपैयाँ संकलन भएको छ । अन्य सेवा शुल्कमा अघिल्लो आर्थिक वर्षमा ३ करोड ५३ लाख ४८ हजार ९१३ रुपैयाँ राजस्व संकलन हुँदा गत आर्थिक वर्षमा ५.३१ प्रतिशतले वृद्धि भई ३ करोड ७२ लाख २४ हजार ९०४ रुपैयाँ संकलन भएको छ । 

गत आर्थिक वर्ष न्यायिक दस्तुर संकलनमा ७२.६२ प्रतिशत वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा २९ हजार ६२० रुपैयाँ संकलन हुँदा गत आर्थिक वर्षमा ५१ हजार १३१ रुपैयाँ राजस्व संकलन भएको छ । 

सिफारिस दस्तुरमा ५०.८५ प्रतिशत, व्यक्तिगत घटना दर्ता दस्तुरमा १८.८६ प्रतिशत, व्यवसाय रजिष्ट्रेशन दस्तुरमा १०.६८ प्रतिशत, प्रशासनिक दण्ड जरिबाना र जफतमा ९७.६० प्रतिशत, धरौटी सदरमा १३ प्रतिशत र बेरुजुमा ७६३.५४ प्रतिशतले वृद्धि भएको महानगरको विवरणमा उल्लेख छ । 

उक्त विवरणअनुसार सिफारिसु दस्तुरमा अघिल्लो आर्थिक वर्षमा ६९ लाख ८५ हजार १४९ रुपैयाँ संकलन हुँदा गत आर्थिक वर्ष १ करोड ५ लाख ३६ हजार ८२३ रुपैयाँ संकलन भएको छ । व्यक्तिगत घटना दर्ता दस्तुरमा अघिल्लो आर्थिक वर्षमा १ लाख १२ हजार १५० रुपैयाँ संकलन हुँदा गत आर्थिक वर्षमा १ लाख ३३ हजार ३०० रुपैयाँ संकलन भएको छ भने व्यवसाय रजिष्ट्रेशन दस्तुरमा अघिल्लो आर्थिक वर्षमा ८ करोड ९२ लाख १९ हजार ३४२ रुपैयाँ संकलन हुँदा गत आर्थिक वर्षमा ९ करोड ८७ लाख ४८ हजार ५२४ रुपैयाँ संकलन भएको छ । 

यस्तै, प्रशासनिक दण्ड जरिबाना र जफतमा अघिल्लो आर्थिक वर्षमा २१ लाख ९६ हजार ८०० संकलन हुँदा गत आर्थिक वर्षमा ४३ लाख ४० हजार ९२० रुपैयाँ संकलन हुँदा धरौटी सदरमा अघिल्लो आर्थिक वर्षमा १२ हजार ८० रुपैयाँ संकलन हुँदा गत आर्थिक वर्ष १३ हजार ६५० रुपैयाँ संकलन भएको छ । 

यसैगरी, बेरुजुमा अघिल्लो आर्थिक वर्षमा ३ लाख १६ हजार ४०० राजस्व संकलन हुँदा गत आर्थिक वर्षमा २७ लाख ३२ हजार २४९ रुपैयाँ संकलन भएको महानगरको विवरणमा उल्लेख छ । 

ऋणात्मक सूचक 

काठमाडौं महानगरले अघिल्लो आर्थिक वर्ष २०७९/०८० को तुलनामा गत आर्थिक वर्ष २०८०/०८१ मा केही शीर्षकको राजस्व संकलन भने ऋणात्मक देखिएको छ । महानगरको विवरणअनुसार अघिल्लो आर्थिक वर्ष सम्पत्ति बहाल तथा पट्टावापतको आयमा लाग्ने कर ६७ लाख ६८ हजार ५५० रुपैयाँ संकलन गर्दा गत आर्थिक वर्ष शतप्रतिशत कमले शून्य रुपैयाँ संकलन गरेको छ । 

भूमि करबापत अघिल्लो आर्थिक वर्ष ९ लाख ६९ हजार ३१६ रुपैयाँ संकलन हुँदा गत आर्थिक वर्ष ६.७१ प्रतिशतले कमी ९ लाख ४ हजार २४९ रुपैयाँ संकलन भएको देखिएको छ । 

यसैगरी, वित्तीय निकायबाट प्राप्त ब्याजमा ९९ हजार ५७९ रुपैयाँ राजस्व संकलन हुँदा गत आर्थिक वर्षमा शतप्रतिशतले कमि शून्य रहेको छ । 

अन्य बिक्रीबाट प्राप्त रकममा अघिल्लो आर्थिक वर्ष ४१ लाख ३२ हजार संकलन हुँदा गत आर्थिक वर्षमा ६५.४४ प्रतिशतले कमि भई १४ लाख २८ हजार रुपैयाँ संकलन भएको छ । शिक्षा क्षेत्रको आम्दानीमा पनि ९१.५७ प्रतिशतले राजस्व संकलनमा कमि आएको छ । जसअनुसार अघिल्लो आर्थिक वर्ष २ लाख ५० हजार ४८५ रुपैयाँ संकलन हुँदा गत आर्थिक वर्षमा २१ हजार १०४ रुपैयाँ संकलन भएको छ । 

अन्य प्रशासनिक सेवा शुल्कमा अघिल्लो आर्थिक वर्ष १२ लाख ५१ हजार ५७२ रुपैयाँ राजस्व संकलन हुँदा गत आर्थिक वर्ष ४५.३० प्रतिशतले कमि भई ६ लाख ८४ हजार ६३० रुपैयाँ संकलन भएको छ । 

नक्सा पास दस्तुरमा अघिल्लो आर्थिक वर्ष ९ करोड १६ लाख ३६ हजार ५४ रुपैयाँ संकलन हुँदा गत आर्थिक वर्ष ११.९३ प्रतिशतले कमि भई ८ करोड ७ लाख २ हजार ६४० रुपैयाँ संकलन भएको छ । 

यसैगरी, नाता प्रमाणित दस्तुर संकलनमा पनि गत वर्ष १.७४ प्रतिशतले कमि आएको छ । अघिल्लो आर्थिक वर्ष नाता प्रमाणित दस्तुरमा ४ लाख १९ हजार १०० रुपैयाँ राजस्व संकलन हुँदा गत आर्थिक वर्ष ४ लाख ११ हजार ८०० रुपैयाँ संकलन भएको महानगरको विवरणमा उल्लेख छ । 

समग्रमा आर्थिक वर्ष २०७९/०८० को तुलनामा आर्थिक वर्ष २०८०/०८१ मा महानगरले राजस्व संकलन ९.०१ प्रतिशतले बढी गरेको छ । जसअनुसार आर्थिक वर्ष २०७९/०८० मा १ अर्ब ५ करोड ५८ लाख ३ हजार ६९६ रुपैयाँ संकलन गरेको थियो भने आर्थिक वर्ष २०८०/०८१ मा १ अर्ब १५ करोड १० लाख ७० हजार ४४४ रुपैयाँ आन्तरिक राजस्व संकलन गरेको हो । 

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १८:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update