Odapalika - The Fourth Estate - चौथो अंग
भद्रकाली मन्दिरः मल्कालिन नेवारी शैलीमै बनाउन पुरातत्व र गुठीको सहमति, यस्तो छ निर्णय

काठमाडौँ । भद्रकाली मन्दिरको पुननिर्माण परम्परागत मल्लकालिन (नेवारी) शैलीमा निर्माण गर्न पुरातत्व विभाग, लुमधि भद्रकाली र गुठी संस्थानले पनि सहमति गरेको खुलेको छ ।

सो मन्दिर पुननिर्माण गर्दा बेलायती शैलीमा गर्ने कि परम्परागत मल्लकालिन (नेवारी) शैलीमा गर्ने भन्ने विवाद भइरहेको समयमा २०७९ पुस ५ गते नै नेवारी शैलीमा बनाउने निर्णय भएको तथ्य फेला परेको हो ।

वडापालिकाले प्राप्त गरेको सो मन्दिर निर्माण सम्बन्धी माइन्यूटमा पुरातत्व विभाग, लुमधि भद्रकाली र गुठी संस्थानले परम्परागत मल्कालिन (नेवारी) शैलीमा मन्दिर बनाउन सहमति गरेको खुल्छ । अहिले सो मन्दिर बेलायती शैलीमा बनाउनु पर्ने भन्दै विवाद सिर्जना भएको छ । पुरातत्व विभागका केही अधिकारीहरुले बेलायती शैलीमा नै मन्दिर निर्माण गर्नुपर्ने र मेयर बालेन शाहले एकलौटी रुपमा परम्परागत मल्लकालिन (नेवारी) शैलीमा बनाउन जोडबल गरेको भन्दै समाचारहरु सार्वजनिक भएका छन् ।

वडापालिकाले प्राप्त गरेको माइन्यूटमा २०७९ पुस ५ गते बसेको बैठकमा पुरातत्व विभागका सिडिइ पूर्णबहादुर श्रेष्ठले हस्ताक्षर गरेका छन् । यस्तै, लुमधि भद्रकालीको तर्फबाट ७ जनाले हस्ताक्षर गरेका छन् भने गुठी संस्थानको तर्फबाट सहायक प्रशासक राजेन्द्र दहालले हस्ताक्षर गरेका छन् ।

‘प्रस्तावित परिमार्जित परम्परागत मल्लकालिन (नेवारी) शैली अनुसारको सडकतर्फको वाहिरी स्वरुपको ड्रइङ डिजाइन बमोजिम पुरातत्व विभाग तथा गुठी संस्थानबाट सहमती भएको निर्णय गरियो,’ माइन्युटमा उल्लेख छ ।

गत असार २७ गते भद्रकाली मन्दिर परिसरको दक्षिण पश्चिमबाट भवन पुनःनिर्माण सुरु भएको थियाे । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले जग पूजा तथा शिलान्यास गरेर पुनःनिर्माण थालनी गरेकी थिइन् । यी संरचनाहरु २०७२ सालको भूकम्पको कम्पनले जीर्ण अवस्थामा थिए ।  

मन्दिरको पश्चिम, उत्तर र दक्षिणतिर पाटी सत्तललगायत भवन संरचना छन् । यसको पुननिर्माणको लागत अनुमान ३६ करोड रुपैयाँ हो । सम्पदा तथा पर्यटन विभागका वरिष्ठ इञ्जिनियर रविन्द्र रिजालकाअनुसार ३४ करोड ८० लाख ७१ हजार रुपैयाँ कवोल गर्ने तुल्सी अम्बुजा जेभीले पुनःनिर्माणको जिम्मा पाएको छ । निर्माण पक्षसँग गएको जेठ ६ गते सम्झौता गरेर असार ३ गते कार्यादेश दिइएको छ । 

यसको निर्माण परम्परागत नेवारी शैलीमा हुनेछ । कुँदिएका बुट्टेदार ढोका, झ्याल, थाम हुनेछ । छानो झिँगटीको हुनेछ । उत्तर (भृकुटीमण्डप) तर्फ २ वटा व्लक आपसमा जोडिएका हुनेछन् । दक्षिणतर्फ (नेपाली सेनाको पेट्रोल पम्पतर्फ) ३ वटा ब्लक हुनेछन् । यिनीहरु पनि आपसमा जोडिएका हुनेछन् । यसरी निर्माण हुने सबै भवनको क्षेत्रफल ३९ हजार वर्गफिट हुनेछ । यसको डिजाइन महानगरकाे सहरी योजना आयोगले तयार पारेको हो । 

पुननिर्माणका क्रममा मन्दिर क्षेत्रमा भएका संरचना, शिल्प र शैलीको अभिलेखन (अवस्था तथा तथ्यको विवरण) तयार पार्ने काम पुरातत्व विभागलाई दिइएको छ । अहिलेको संरचना भत्काएपछि संकलन हुने निर्माणजन्य सामग्रीलाई पुरातत्व विभाग, गुठी संस्थान, लुमधी भद्रकालीे व्यवस्थापन समितिसहितको सहजीकरण समितिले समन्वय र व्यवस्थापन गर्नेछ । 

भद्रकाली भौगोलिक रुपमा वडा नंं ११ मा पर्छ । यससँग सम्बन्धित जात्रा पर्व, संस्कार, संस्कृति तथा परम्परा वडा नं. २२ सहित भित्री वडासँग सम्बन्धित छन् । सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राई भन्नुहुन्छ, यो वहुपक्षीय सम्बन्ध राख्ने पुनःनिर्माणको काम हो । 

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १९:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update