Odapalika - The Fourth Estate - चौथो अंग
कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिममा वर्षाको चेतावनी 

काठमाडौँ । देशका कतिपय स्थानमा आज पनि पानी पर्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जानकारी गराएको छ । 

महाशाखाले जारी गरेको मौसम बुलेटिनअनुसार देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । केही स्थानमा त बिहानैदेखि पानी परिरहेको छ । 

आज बिहान देशभर साधारणतया बदली भइरहेको छ । महाशाखाका अनुसार गण्डकी प्रदेशका केही, कोसी, बागमती र लुम्बिनी  प्रदेशका थोरै स्थानमा वर्षा जारी छ । मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 

दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने तथा कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा वर्षा हुनेछ । बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी, बागमती र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ । बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको अनुमान छ ।

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  ०६:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update