Odapalika - The Fourth Estate - चौथो अंग
७५३ स्थानीय तह हल्लाउने यस्तो छ कमल गाउँपालिकाको कार्यवाहक प्रकरण 

काठमाडौं । ९ दिन काठमाडौँमा बिताएर ९ दिनका लागि जापानको भ्रमणमा छन् झापास्थित कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई । 

राईसंगै जाइकाको सहयोगमा झापामा संचालित सिंचाइ आयोजना सम्वन्धि कार्यक्रमको व्यानरमा गौरादह गाउँपालिका, गौरीगञ्ज नगरपालिका र शिबसताक्षी नगरपालिकाका प्रमुख पनि जापान छन् । 

तर चर्चामा भने कमल गाउँपालिकाका अध्यक्ष राईमात्र रहे । किनकी पालिका प्रमुख र अध्यक्ष देशबाहिर जाँदा उपाध्यक्षलाई कार्यवाहक दिएर जानुपर्ने स्थानीय सरकार संचालन ऐनको दफा १६ को उपदफा ४(क)को प्रावधानविपरित राईले वडा नम्बर २ का अध्यक्ष अशाेक सुब्बालाई

 कार्यवाहकको जिम्मेवारी दिएर जापानतिर हानिए । 

१ भदौको मितिमा उनले वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिइएको पत्र थमाएका छन् । 

स्थानीय सरकार प्रमुख देशबाहिर हुँदा कार्यवाहक कसलाई दिने भन्ने संघीय र स्थानीय कानुनले तोकिदिएको मापदण्डविपरित वडाध्यक्षलाई कार्यवाहक तोकेपछि उनले नेतृत्व गर्ने पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधि मात्र होइन कमल गाउँपालिकाको बहुमत कार्यपाकिला सदस्यसमेत असन्तुष्ट छन् । यतिमात्र होइन गाउँपालिका राष्ट्रिय महासंघ र नगरपालिका संघसमेतले अध्यक्ष राईको कदम गलत भनेका छन् । 

यसरी सुरु भयो विवाद 

कमल गाउँपालिकाका अध्यक्ष राई कांग्रेसका तर्फबाट निर्वाचित भए भने कार्यवाहक नपाएकी उपाध्यक्ष प्रमिला न्यौपाने एमालेवाट निर्वाचित भएकी हुन् । पदभारग्रहणपछि नै यी २ जनाबीच दलीय मनमुटाव सुरु भयो । दलीय मनमुटाव सुरु भएपछि संघीय गठवन्धनअनुसार राईले कार्यपालिका बैठकमा पनि व्यवहार गर्न थाले । हाल कार्यवाहक पाएका वडाध्यक्ष नेकपा एकीकृत समाजवादीबाट निर्वाचित भएका हुन् । 

जबकी पालिकामा कांग्रेसका तर्फबाट निर्वाचित वडाअध्यक्ष पनि छन् । कानुनअनुसार उपाध्यक्षले पाउनुपर्ने यदि त्यसो हुन नसकेमा आफ्नै पार्टीबाट निर्वाचित वडाअध्यक्षलाई कार्यवाहक दिनुपर्नेमा राईले गठवन्धन रिझाउन नेकपा एसका वडाअध्यक्ष रोजेको कांग्रेसकै वडाअध्यक्षहरूले समेत आरोप लगाइरहेका छन् । 

प्रसाशकीय अधिकृतको लफडा पनि जोडियो 

तर कार्यवाहक प्रकरण भने यतिमा मात्र सिमित छैन । उपाध्यक्ष प्रमिला न्यौपाने भने प्रमुख प्रसाशकीय अधिकृत सरुवा र प्रतिस्थापनको विषयलाई जोडेर अध्यक्षले आफुलाई कार्यवाहक नदिएको दाबी गर्छिन् । उपाध्यक्षका अनुसार हालका प्रसाशकीय अधिकृत राजकुमार शाक्यको सरुवा भएको र उनको ठाउँमा मातृका दंगाल नामका अधिकृत आउने तयारी छ । अध्यक्ष भने हालका अधिकृतलाई रमाना दिएर पठाउन तयार छैनन् । 

‘मलाई कार्यवाहक दिए पुरानाको बिदाइ र नयाँको स्वागत हुन्छ भन्ने डरले पनि अध्यक्षज्यूले गैरकानुनी काम गर्नुभएको हो,’ उपाध्यक्ष न्यौपानेले वडापालिकासँग भनिन् ।

मुद्दा हाल्ने तयारी 

उपाध्यक्ष न्यौपानेले अधिकार प्राप्तिका लागि उच्च अदालत इलाममा रिट दर्ता गर्ने बताएकी छन् । 

अध्यक्षको कार्यवाहक दिने निर्णय कार्यान्वयन नगर्न र यस्तो निर्णय बदर गर्न माग गर्दै मैले उच्च अदालतमा रिट दिने तयारी गरिरहेको छु । सायद भोलि दर्ता हुन्छ,’ उनले भनिन् । 

उनको यो निर्णयमा पार्टीले समेत साथ दिएको छ । पार्टीले त अझ विज्ञप्ति नै निकालेर अध्यक्षको कदमको विरोध गरेको छ । 

हेर्नहोस् विज्ञप्ति 

pramila release1692529964.jpg

दुबै संघले भनेः कानुनको पालना गर्नू 

नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघले भने आइतवार बिज्ञप्ति नै जारी गरेर अध्यक्ष या प्रमुखले विदेश जाँदा उपाध्यक्ष या उपप्रमुखलाई नै कार्यवाहक दिनुपर्ने कानुन सम्झाइदिएको छ । 

दुवै संघका अध्यक्षहरुले हस्ताक्षर गरेको पत्रमा अध्यक्ष र प्रमुख बिदेश जाँदा स्वतः उपाध्यक्ष वा उपप्रमुखलाई कार्यवाहक दिने कानुनी व्यवस्था भएको स्मरण गराउँदै ७५३ वटै पालिकाका प्रमुख र अध्यक्षहरुलाई कानुन पालना गर्न भनेको छ । 

हेर्नुहोस् विज्ञप्ति 

release mahasang1692529965.jpg

(* सच्याइएकाे)

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १६:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update