Odapalika - The Fourth Estate - चौथो अंग
तातोपानीको बजेट खर्च उत्साहजनक, एक वर्षमै ७० योजना सम्पन्न 

काठमाडौँ । जुम्लाको तातोपानी गाउँपालिकाले गत आर्थिक वर्ष २०८०/०८१ मा कूल बजेटको ८१ प्रतिशत खर्च गरेको जानकारी दिएको छ ।

गाउँपालिकाले सो आर्थिक वर्षमा ५५ करोड ६१ लाख रुपैयाँको  बजेट ल्याएको थियो । असार २४ गतेसम्म कूल बजेटको ८१ दशमलव १७ प्रतिशत खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले जानकारी दिए ।

विनियोजित बजेटको चालुतर्फ ३७ करोड ४२ लाखमध्ये ३२ करोड २९ लाख अर्थात् ८६ दशमलव २८ प्रतिशत खर्च भएको छ । पुँजीगततर्फ  १८ करोड १९ लाख बजेटमध्ये १२ करोड ८५ लाख रुपैयाँ अर्थात् ७९ दशमलव ६६ प्रतिशत खर्च भएको हो । 

पालिकाले २० लाख राजस्व सङ्कलन गर्ने प्रक्षेपण गरेकोमा ३० लाख ९९ हजार रुपैयाँ सङ्कलन गरेको गाउँपालिकाले जनाएको छ ।

अघिल्लो आर्थिक वर्षमा पालिकाले ७८ दशमलव १० प्रतिशत बजेट खर्च गरेको थियो । गत आवमा ३ प्रतिशतले बजेट खर्च बढेको हो । पालिकाद्वारा आयोजित वार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रस्तुत विवरणअनुसार आर्थिक विकास ६६  दशमलव ७ प्रतिशत, सामाजिक विकासमा ६० दशमलव ८१ प्रतिशत, पूर्वाधार विकासमा ७७ दशमलव १ प्रतिशत, सुशासन तथा विपद् व्यवस्थापनमा ६० दशमलव ६२ प्रतिशत र कार्यालय सञ्चालनतर्फ ७० दशमलव ४३ प्रतिशत खर्च भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कठायतको भनाइ छ ।

सङ्घ प्रदेश र स्थानीय तहबाट सञ्चालन भएका योजनाको भौतिक प्रगति शतप्रतिशत छ । पालिकाका ८ वटैै वडामा सञ्चालित ७० भन्दा बढी योजना पूर्णरुपमा सम्पन्न भएका छन् । ठेक्कामार्फत सङ्घ र प्रदेशको लगानीमा ७ वटा आयोजना निर्माण भएका छन् ।

प्रभावकारी श्रमदान अभियान, १ हजार २०० बढी अतिविपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा, प्रशासनिक भवन निर्माण, निःशुल्क एम्बुलेन्स सेवा जस्ता नमूना काम गरेको पालिकाले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  ०७:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update