Odapalika - The Fourth Estate - चौथो अंग
वाइवाइले क्यानलाई दियो १० लाख रुपैयाँ 

काठमाडौँ । चौधरी ग्रुप मातहतको सिजी फुड्स नेपालले उत्पादन गर्ने वाइवाइ चाउचाउले नेपाल क्रिकेट संघ (क्यान)लाई १० लाख रूपैयाँ हस्तान्तरण गरेको छ ।

आइसिसी टि–२० विश्कपमा सहभागी खेलाडीलाई प्रोत्साहन स्वरुप सिजी फुड्सले गरेको घोषणा अनुसार उक्त रकम हस्तान्तरण गरिएको हो ।

नेपाल राष्ट्रिय टिम टी–२० विश्वकपमा सहभागी बनिरहदा खेलाडीहरूलाई प्रोत्साहन स्वरुप वाइवाइले प्रत्यक रनका लागि १ हजार रुपैयाँ, प्रत्यक चौकाका लागि ८ हजार रुपैयाँ र प्रत्येक छक्काका लागि १२ हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको थियो । 

सिजी फुड्सले प्रत्यक विकेटका लागि १५ हजार रुपैयाँ, प्रत्यक अर्धशतक वापत ५० हजार रुपैयाँ, प्रत्यक शतक वापत १ लाख र नेपाली टिमको प्रत्यक जितमा १ लाख ५० हजार रूपैयाँ नगद उपलब्ध गराउने पनि घोषणा गरेको थियो । त्यसैगरि सुपर आठमा पुगेमा राष्ट्रिय टिमका लागि ३० लाख रुपैयाँ उपलब्ध गराउने वाइवाइको घोषणा थियो । 

सोही घोषणा बमोजिम विश्वकपमा नेपाली टिमको समग्र प्रदर्शन अनुसार सम्पूर्ण रनको ३ लाख ५ हजार, विकेटको ३ लाख १५ हजार, चौकाहरुको २ लाख १६ हजार, छक्काहरुको १ लाख ८ हजार गरी ९ लाख ४४ हजार रुपैयाँ भएकोमा उक्त रकममा ५६ हजार थप गरि हस्तान्तरण गरिएको सिजी फुड्सले जानकारी दिएको छ ।

बुधबार ललितपुरको होटल भिभान्तामा आयोजित समारोहवीच सिजी फुड्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रदीप पुडासैनीले क्यानका सचिव पारश खड्कालाई उक्त रकमको चेक हस्तान्तरण गरे ।

उक्त अवसरमा बोल्दै सिइओ पुडासैनीले टी–२० विश्वकपमा सहभागि राष्ट्रिय टिममा आवद्ध खेलाडीहरूलाई नेपालको राष्ट्रिय झण्डा विश्वकपको मैदानमा फहराउन सफल भएकोमा बधाई एवं धन्यवाद दिए ।

‘चौधरी ग्रुपले नेपाली क्रिकेटको फाउण्डेसन निर्माणमा योगदान गर्दै आएको छ । अहिले हाम्रो राष्ट्रिय टिम टी–२० विश्वकपमा खेल्नुलाई म ठूलो उपलब्धी मान्छु । निकट भविष्यमा नेपाली राष्ट्रिय टिमले महत्वपूर्ण उपाधी सहित नेपाललाई गौरवान्वित गराउनेछ भन्नेमा मलाई विश्वास छ,’ प्रमुख कार्यकारी अधिकृत पुडासैनीले भने ।

चौधरी ग्रुपले आगामी दिनमा पनि नेपाली क्रिकेटको विकासमा सहयात्रा गर्ने जानकारी पनि पुडासैनीले जानकारी दिए ।

क्यानका सचिव पारस खड्काले नेपालीे क्रिकेटलाई जगैदेखि बलियो बनाउन चौधरी ग्रुपले पु¥याउँदै आएको योगदान उच्च रहेको धारणा राखे । वाइवाइले प्रायोजन गरेको यू–१९ प्रतियोगितमा आफुले वाइवाइको जर्सी लगाएर मैदानमा खेलेको पनि राष्ट्रिय टिमका पूर्वकप्तान समेत रहेका खड्काले स्मरण गरे ।

नेपाल आइसिसी टि–२० विश्वकपमा खेल्न सफल भएको अवसरमा लामो समयदेखि पुरूष अन्डर–१९ क्रिकेट टिमलाई प्रायोजन गर्दै आएको वाइवाइले महिला अन्डर–१९ क्रिकेट टिमलाई समेत प्रायोजन वापत ३० लाख रुपैयाँ तथा अन्य क्रिकेट गतिबिधि संचालनका लागि ३० लाख रुपैयाँ गरि जम्मा ६० लाख रुपैयाँ नेपाल क्रिकेट संघलाई सहयोग गर्ने घोषणा पनि गरेको छ । उक्त रकम क्यानसँगको समन्वयमा निकट भविष्यमा हस्तान्तरण गरिनेछ । 

यसैगरि वाइवाइले नेपाली क्रिकेटप्रेमी दर्शकलाई हौसला तथा उत्साह प्रदान गर्ने उद्देश्यले विश्वकप अवधिभर वाइवाइ क्रिकेट ‘प्रेडिक्ट एण्ड विन कन्टेस्ट’ सञ्चालन गरेको थियो । जस अन्तर्गत प्रथम, दोस्रो, तेस्रो पुरस्कार विजेतालाई क्रमशः १ लाख,  ५० हजार, २५ हजार रुपैयाँ तथा टुर्नामेन्ट प्रेडिक्सन अन्तर्गत ४ जना प्रत्यक विजेतालाई १५ हजार रुपैयाँ नगद पुरस्कार पनि प्रदान गरिएको सिजी फुड्सले जानकारी दिएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  ११:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update