Odapalika - The Fourth Estate - चौथो अंग
‘बजेट शून्यता’मा धरान उपहानगरपालिका, काम कारबाही ठप्प 

काठमाडौं । स्थानीय तहले असार मसान्तभित्र आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट नगरसभाबाट पारित गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । तर, धरान उपहानगरपालिकाले भने हालसम्म बजेट पारित गर्न सकेको छैन । जसले गर्दा धरान उपहानगरपालिका ‘बजेट शून्यता’को अवस्थामा पुगेको छ । 

बजेटविहीन अवस्थामा धरान उपमहानगरको काम कारबाही रोकिएको छ । धरान उपमहानगरपालिकाका प्रमुख हर्क राज राई (हर्क साम्पाङ) र उपप्रमुख अईन्द्र विक्रम मेघाबीचको टकरावका कारण उपहानगरपालिका बजेट शून्यताको अवस्थामा पुगेको हो । 

बजेट पारित नहुँदा साउन १ गतेदेखि धरान उपहानगर बजेट शून्यताको अवस्थामा पुगेको प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र राईले वडापालिकालाई जानकारी दिए । उनका अनुसार बजेटविहीन अवस्था सिर्जना भएकाले उपहानगरको काम ठप्प भएको छ । 

‘बजेट पारित नहुँदा धरान बजेटविहीन अवस्थामा पुगेको छ । बजेटविहीन अवस्थामा केही काम गर्न सकिँदैन,’ उनले भने, ‘विकास निर्माणलगायतका काम ठप्प भएको छ ।’ गत आर्थिक वर्षकै दरमा व्यक्तिगत घटना दर्ताबाहेक अन्य काम केही नहुने उनले बताए । 

असार १० गतेभित्र स्थानीय तहले बजेट नगरसभामा पेस गर्नुपर्ने हुन्छ । यस दिन नसके पनि असार मसान्तभित्र बजेट नगरसभामा पेस गरेर पारित सक्नुपर्ने हुन्छ । तर, धरान उपहानगरपालिकाले चालु आर्थिक वर्षको बजेट अझै नगरसभामा पेससमेत गर्न नसकेको छैन । कहिले पेस हुने भन्ने अझै अन्योल देखिएको छ । 

बजेट पेस गर्ने विषय राजनीति भएको भन्दै प्रशासकीय अधिकृत राईले बजेट पारित हुनेबारे स्पष्ट बताउन सकेनन् । ‘बजेट पेस गर्ने र पारित गर्ने कुरा राजनीतिक विषय हो,’ उनले भने, ‘उहाँहरू (मेयर र उपमेयर)ले कहिले बजेट पेस गर्नुहुन्छ, कहिले पारित गर्नुहुन्छ, उहाँहरुको कुरा भयो ।’ 
 

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  ११:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update