Odapalika - The Fourth Estate - चौथो अंग
गणतन्त्र घोषणापछि बने ९ जना प्रधानमन्त्री, कति हुन्छ तलब, भत्ता र सुविधा ?

काठमाडौँ । नेपालमा गणतन्त्र घोषणापछि नौजना प्रधानमन्त्री बनेका छन् । गणतन्त्र घोषणापछि गिरिजाप्रसाद कोइराला, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, खिलराज रेग्मी, सुशील कोइराला, केपी शर्मा ओली र  शेरबहादुर देउवा प्रधानमन्त्री बनेका छन् । तर, एउटै व्यक्ति पटक पटक प्रधानमन्त्री बने ।

मौजुदा प्रधानमन्त्री ओली हाल चौथोपटक प्रधानमन्त्री बनेका हुन् । उनी संविधानसभाबाट संविधान जारी भएपछि २०७२ सालमा पहिलोपटक प्रधानमन्    त्री बनेका हुन् । यो नौ वर्षको बीचमा उनी चारपटक प्रधानमन्त्री बने । गिरिजाप्रसाद पनि गणतन्त्र घोषणापछि एकपटक प्रधानमन्त्री बने । तर, उनी योसहित पाँचौँपटक प्रधानमन्त्री बनेका थिए । 

यस्तै, २०६५ सालमा पहिलोपटक प्रधानमन्त्री बनेका प्रचण्ड तीनपटक प्रधानमन्त्री भए । शेरबहादुर देउवा गणतन्त्र घोषणापछि दुईपटक प्रधानमन्त्री  बने । यो दुईसहित उनी पाँचौँपटक प्रधानमन्त्री बने । 

कति हुन्छ प्रधानमन्त्रीको तलब र भत्ता ?

प्रधानमन्त्रीको तलब भत्ताबारे आममानिसको चासो छ । पटक पटक एउटै व्यक्ति प्रधानमन्त्री बन्ने भएकाले पनि यसबारे आममानिसको चासो हुनु स्वाभाविक हो । कार्य सञ्चालन निर्देशिका, २०७७ (आठौँ संस्करण) अनुसार प्रधानमन्त्रीको मासिक पारिश्रमिक ७७ हजार २८० रुपैयाँ हुन्छ । त्यसमा २ हजार रुपैयाँ महंगी भत्ता थपिन्छ ।

सञ्चार सुविधाबापत ५ हजार रुपैयाँ प्रधानमन्त्रीले पाउँछन् ।  प्रधानमन्त्रीलाई मासिक मसलन्द तथा अतिथि सत्कारबापत १० हजार रुपैयाँ तोकिएको छ भने प्रधानमन्त्रीको हैसियतमा देशभित्र हुने भ्रमणमा दैनिक भ्रमण भत्ता ३ हजार रुपैयाँ दिने तोकिएको छ । प्रधानमन्त्रीलाई मासिक ३०६ लिटर पेट्रोल र वार्षिक ४० लिटर मोबिल सुविधा उपलब्ध हुन्छ ।

प्रधानमन्त्रीले आफ्नो सचिवालयमा ६५ हजार १४० रुपैयाँ मासिक पारिश्रमिक दिने गरी एकजना प्रमुख स्वकीय सचिव राख्न पाउने व्यवस्था छ । त्यसबाहेक एकजना स्वकीय सचिव, तीनजना सहस्वकीय सचिव, ६ जना उपस्वकीय सचिव र पाँचजना स्वकीय अधिकृत नियुक्त गर्न पाउँछन् । 

अन्य केही अधिकृत, चालक र कार्यालय सहयोगीसहित प्रधानमन्त्रीले आफ्नो सचिवालयमा बढीमा ३४ जना नियुक्त गर्न पाउने व्यवस्था छ । 

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  १५:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update