Odapalika - The Fourth Estate - चौथो अंग
२० अर्बको कारोबार गर्ने नाडा अटो शोका यी हुन् मुख्य आकर्षण

 

काठमाडौँ । २६ भदौबाट काठमाडौँको भृकुटीमण्डपमा नाडा अटो शो २०२३ आयोजना हुँदैछ । प्रत्येक वर्ष आयोजना हुने अटो शो कोरोना महामारी तथा सरकारले आयातमा प्रतिबन्ध लगाउँदा ४ वर्षदेखि हुन सकेको थिएन । 

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा) ले ६ दिनसम्म आयोजना गर्ने अटो शोमा २० अर्ब हाराहारी कारोबार हुने जनाएको छ । 

नाडा महासचिव सुरेन्द्र उप्रेती ५ लाख हाराहारीमा गाडीको बुकिङ हुने अनुमान गरिएको बताउँछन् । उनले अहिलेको अटो शोको मुख्य आकर्षक नै विद्युतीय गाडी भएको बताए । 

‘पछिल्लो समय सरकारले विद्युतीय गाडीमा प्रोत्साहन गर्दै आएको छ, सरकारको प्रोत्साहन तथा उपभोक्ताको रोजाइअनुसार अहिलेको मुख्यआकर्षक नै विद्युतीय गाडी हो’, उनले भने । 

यी हुन मुख्य आकर्षक

डिजेल तथा पेट्रोलबाट सञ्चालित १० गाडी कम्पनीले अटो शोमा सहभागिता जनाउँदा विद्युतीय गाडी (इभी) का १२ कम्पनीले सहभागिता जनाएका छन् । 

अटो शोमा एमजी, बीवाइडी, मेक्सस, किया, महिन्द्रा र टाटालगायतका कम्पनीले विद्युतीय गाडीका नयाँमोडल ल्याउने तयारी गरेका छन् । डिजेलका गाडीको तुलनामा विद्युतीय गाडीको सहभागिता धेरै भएपछि विद्युतीय गाडीबीच नै कडा प्रतिस्पर्धा हुने नाडाले जनाएको छ । 

नाडाकाअनुसार अटो शोका लागि एमजीले एमजी–४ क्रसओभर, बीवाइडीले डल्फीन तथा सिल, मेक्ससको मिफा–९, महिन्द्राको एक्सयूभी ४००, किया ईभी–६ र टाटाले टियागो मोडल प्रदर्शनी गर्नेछन् । 

अटो शोमा विभिन्न ८ वटा ब्राण्डका १२ भन्दा बढी विद्युतीय गाडीकोे सहभागिता रहनेछ । 

बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले नाडा अटो शो २०२३ मा २ मोडलका गाडी ल्याउने भएको छ । कम्पनीले डल्फीन र प्रिमियम सेडानकार राख्न लागेको हो । 

अटो शोका लागि नै लक्षित गर्दै कम्पनीले डल्फीन मो सडक परीक्षण सुरु गरेको छ भने सेडान अटो शोको मुख्य आकर्षकका रुपमा राख्न लागेको छ । 

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १७:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update