Odapalika - The Fourth Estate - चौथो अंग
बंगलादेशमा मोबाइल र इन्टरनेट बन्द 

काठमाडौँ । बंगलादेशमा आन्दोलन चर्किंदै गएपछि इन्टरनेट र मोबाइल नेटवर्क बन्द गरिएको छ । सरकारी कोटा र आरक्षणको विरोधमा बंगलादेशमा आन्दोलन चर्किंदै जाँदा त्यहाँको सरकारले इन्टरनेट र मोबाइल बन्द गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । 

आन्दोलनमा परेर कम्तिमा ६ जनाको मृत्यु भएको छ भने एक सयभन्दा बढी घाइते भएका छन् । मानिसको ज्यान जाने गरी भएको आन्दोलन चर्किन भूमिका खेलेको भन्दै मोबाइलमा इन्टरनेट सेवा बन्द गरिएको छ । 

सामाजिक सञ्जालमार्फत भ्रम फैलाउन र आन्दोलनलाई हिंसात्मक बनाउन भूमिका खेलेकाले तत्कालका लागि मोबाइल इन्टरनेट सेवा बन्द गरिएको बंगलादेशका सहायक सूचना प्रविधिमन्त्री जुनैद अहमद पालकले बताए । उनका अनुसार अवस्था सामान्य भएपछि पुनः सुचारु गरिनेछ । 

आन्दोलन दबाउन प्रहरीले बल प्रयोग गरेको छ भने आन्दोलनमा अधिकांश विद्यार्थीको सहभागिता भएका कारणले विद्यालय तथा विश्वविद्यालय बन्द भएका छन् । 

बंगलादेशको सरकारी निकायमा विभिन्न क्षेत्र, समुदाय तथा वर्गलाई करिब ५० प्रतिशत आरक्षण तथा कोटा राखिएको छ । जसको विरोधमा राजधानी ढाकासहितका स्थानमा आन्दोलन भइरहेको छ । जसमा हजारौँ विद्यार्थी सहभागी भएसँगै विद्यालय र विश्वविद्यालय अर्काे सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ । 
 

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  १७:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update