Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँको विष्णुमतिमा बाढी, ५ प्रदेशमा दिनभर झरी 

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकाको विष्णुमति नदीले खतराको तह पार गरेको भन्दै सर्तक रहन भनेको छ । 

महाशाखाका अनुसार उपत्यकासहित देशका ५ वटा प्रदेशमा आज दिनभरजसो पानी पर्नेछ । गोंगबु जलमापन केन्द्रमा जलसतहले खतराको तह पार गरेको महाशाखाले जनाएको छ । 

उपत्यका भएर बहने खोला नदीमा  बाढी आउनसक्ने भन्दै विभागले सतर्क रहन पनि भनेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार जलसतह बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्रमा रहनेहरूले उच्च सतर्कता अपनाउनुपर्ने छ । 

काठमाडौँमा बिहीबार बेलुकादेखि नै वर्षा भइरहेको छ । काठमाडौंको केही स्थानमा भारी वर्षा समेत भएको छ । 

देशका विभिन्न भू–भागमा पनि आज वर्षा भइरहेको छ । देशभर साधारणतया बदली रहँदा केही स्थानमा बिहान वर्षा भइरहेको हो । 

कोसी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बागमती तथा लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा भइरहेको छ ।

दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई  स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  ०६:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update