Odapalika - The Fourth Estate - चौथो अंग
धानखेत जोगाउन खाँडादेवीको भटौली खोलामा तटबन्ध 

काठमाडौँ । रामेछापको सबैभन्दा ठुलो धान खेती हुने फाँट खाँडादेवी  गाउँपालिका–४ पकरबासको माडी फाँटलाई भटौली खोलाको कटानबाट नियन्त्रण गर्न तटबन्ध निर्माण गरिएको छ । 

वागमती प्रदेश सरकारको लगानीमा भटौली खोलाको जँगारेफाँटमा तटबन्ध निर्माण गरिएको हो । प्रदेश सरकारको बजेट २१ लाख रुपैँयाबाट २ सय १४ थान तार जाली लगाइएको खाँडादेवी गाउँपालिका–४ का वडाध्यक्ष कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

तटबन्ध निर्माणपछि जँगारे र माडीफाँट सुरक्षित भएको छ । यसअघि भटौली खोलाले कटान गरी बगर बनाएको जँगारेमा पनि स्थानीयले खेत बनाएर रोपाइँ गरेका छन् । 

यस वर्ष पनि सो क्षेत्रमा खोला नियन्त्रणको लागि प्रदेश सरकारले थप १५ लाख रुपैँया विनियोजन गरेको छ । सो रकमबाट थप तलसम्म जाली हालेर खेतीयोग्य जमिनलाई सुरक्षित गरिने पौडेलले बताए । 

भटौली खोलमा हालको झोलुङ्गे पुल नजिकै जँगारे छेउमा पक्की पुल पनि बन्दै छ । सो पुल बनेपछि त्यसको आसपासको क्षेत्रमा पुलको सुरक्षाका लागि पनि तटबन्ध गरिने भएको छ । त्यसले माडी फाँटलाई थप सुरक्षित गर्नेछ ।

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  ११:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update