Odapalika - The Fourth Estate - चौथो अंग
धार्मिक पर्यटनको हब बन्दै रोङको पाथीभरा मन्दिर

इलाम । इलामको रोङ गाउँपालिका रहेको पाथीभरा मन्दिर परिसरमा व्यवस्थित टहरा निर्माण गरिएको छ । रोङ गाउँपालिका र कोशी प्रदेश सरकारअन्तर्गत पर्यटन वन तथा वातावरण मन्त्रालयको समन्वयमा टहरा व्यवस्थित गरिएको हो । 

टहरा व्यवस्थापनका लागि मन्त्रालयले ४० लाख, रोङ गाउँपालिकाले २० लाख र उपभोक्ताले ६ लाख १२ हजार ५०० रुपैयाँ  खर्च गरेका गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्वोले बताए । 

उनकाअनुसार ४८ वटा व्यावसायिक टहरालाई आकर्षक रुपमा निर्माण गरिएको छ । टहरा निर्माण र मन्दिर परिसर सजावटका लागि ६८ लाख ४२ हजार ६०० रुपैयाँ खर्च भएको छ ।

धार्मिक आस्थाको केन्द्रका रुपमा रहेको पाथीभरा मन्दिर परिसरमा आगन्तुक भक्तजनको सहजताका साथै यहाँको व्यवसायलाई व्यवस्थित बनाउने उद्देश्यले टहरा निर्माण गरिएको अध्यक्ष स्याङ्वोले जानकारी दिए । 

टहरा निर्माणपछि पाथीभरा मन्दिर परिसर आकर्षक र व्यवस्थित देखिएको छ । इलाम प्रवेशद्वार जोरकलस, कुट्टीडाँडा, हाँसपोखरी हर्कटेलगायत मेची राजमार्गको रोङ क्षेत्रमा सिमेन्टको गमला र फूल रोप्ने काम गरी पाथीभरा परिसरलाई सुन्दर बनाउन थालिएको अध्यक्ष स्याङ्वोले जानकारी दिए । 

धार्मिक पर्यटनसँगै मेची राजमार्गमा यात्रा गर्ने यात्रु तथा पर्यटकलाई समेत सौन्दयकरणले आर्कषित गराउन यस्तो प्रयास थालिएको उनको भनाई छ । 

रोङ–३ मा रहेको पाथीभरा मन्दिर परिसरमा ‘माता पाथीभरा साना पर्यटन व्यवसायीले संस्था’ स्थापना गरी व्यवसाय गर्दै आएका छन् । स्थानीय सरकारले पाथीभराको प्रवद्र्धनमा चासोका साथ काम अगाडि बढाएको यहाँका व्यवसायी बताउँछन् । 

यसअघि यस क्षेत्रमा अव्यवस्थित र मनोमानी ढङ्गले व्यवसायीले व्यवसाय सञ्चालन गर्दै आएकामा अब व्यवस्थित हुने उनीहरुको भनाइ थियो ।

मन्दिरमा आउने भक्तजनका साथै मन्दिर परिसरमा पुजाका सामग्रीलगायत सेवा प्रदान गर्ने व्यवसायीको सहजताका लागि पालिकाले काम गरिरहेको पालिकाको दाबी छ । 

यस क्षेत्रमा साना व्यवसायी संस्थामा हालसम्म ४८ जना व्यवसायी आवद्ध रहेका पालिकाले जनाएको छ । संस्थामा आवद्ध व्यवसायी, टोल विकास संस्था र स्थानीयले मन्दिर परिसरलाई व्यवस्थित र आकर्षित गर्न सरसफाइ, सजावटलगायत काममा व्यवसायी सक्रिय छन् ।

गाउँपालिकाको मातहतमा मन्दिर आएपछि मन्दिर थप व्यवस्थित र सफा भएको अनुभूति भएको भक्तजनको भनाइ छ । वार्षिक करोडौँ रकम सङ्कलन हुने यस मन्दिरमा पछिल्लो समय आम्दानी वृद्धि हुँदै गएको छ । 

ताप्लेजुङस्थित पाथिभरा मन्दिरमा पुग्न नसक्नेले स्मरण गरेमात्र पनि मनोकामना पूरा हुने धार्मिक विश्वास छ । यहाँ झापा, मोरङ, सुनसरीलगायत तराईका विभिन्न जिल्लाबाट दैनिक सयौँ भक्तजन आउने गरेका छन् ।

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १६:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update