Odapalika - The Fourth Estate - चौथो अंग
पालिकाको बजेटले गड्यौला खेती पढाउँदै जनकल्याण मावि

काठमाडौँ । मकवानपुरको थाहा नगरपालिकाभित्र पर्ने जनकल्याण मावि विद्यार्थीलाई गड्यौला खेती पढाउन थालेको छ । विद्यालय हाताभित्र नै गड्यौला खेती गरेर कृषि पढ्ने विद्यार्थीलाई प्राविधिक र व्यवहारिक ज्ञान दिन थालिएको हो ।

जमिनलाई सधै जोतेर उर्बराशक्ति बढाइराख्ने र मल पनि उपलब्ध गराउने गड्यौला जस्तो उपयोगी जीवको बारेमा अध्ययन गराएपछि मात्रै कृषि अध्ययन सफल हुने भएकोले गड्यौला खेतीबारे अध्यापन थालिएको जनकल्याण माविका प्रधानाध्यापक सानाेभाइ कार्की बताउँछन् ।

‘गड्यौलाले सधै जमिन जोतिरहन्छ । यो जमिनको साथी हो, किसानको साथी हो । गड्यौला खेतीबारेमा कृषि पढ्ने विद्यार्थीलाई जानकारी दिनै पर्ने भएकोले किनेर ल्याएका छौं । विद्यालय हाताभित्र नै गड्यौला पालेर विद्यार्थीलाई व्यवहारिक ज्ञान पनि दिइरहेका छौं,’ प्रधानाध्याक कार्कीले वडापालिकासँग भने ।

गड्यौला भेट्नै गाह्रो

विद्यालयले गड्यौला खेतीको बारेमा विद्यार्थीलाई व्यवहारिक र प्रविधिक ज्ञान प्रदान गर्न विद्यालय हाताभित्रै गड्यौला खेती गर्ने योजना बनायो । तर, गड्यौला पाउने कहाँ भन्ने जानकारी थिएन ।

‘गड्यौला कहाँ पाइन्छ र कसरी पाल्नुपर्छ भन्ने पनि जानकारी थिएन । अनि अनलाइनमा गड्यौला खेती गरिरहेका किसानका बारेमा जानकारी खोज्न थाल्यौं । काठमाडौँको भिमढुंगामा यसको खेती गर्ने किसानसँग सम्पर्क भयो । अनि गड्यौला किन्ने योजना बनाउन थालियो,’ प्रधानाध्यापक कार्कीले भने ।

gadyaula11692597090.jpg

गड्यौला पाइयो । त्यसको खेती गर्न तालिम पनि पाउने भइयो । तर, गड्यौला किन्ने बजेटको अभाव भयो । किनभने गड्यौला किन्न र त्यसको खेती गर्ने तालिम पनि लिनको लागि करिब ५ लाख रुपैयाँ लाग्ने भयो । तालिम ३ दिनको हुने रहेछ ।

बजेटको अभाव परेपछि विद्यालयले आफ्नो सरकार र अभिभावक पनि रहेको थाहा नगरपालिकासँग आग्रह गर्यो । मेयर विष्णुबहादुर विष्ट ‘आदर्श’ बजेट उपलब्ध गराउन राजी भए । गड्यौला खेती गर्न जनकल्याण मावि तयार थियो । बजेट दिन नगरपालिका तयार भयो । गड्यौला बेच्ने र तामिल दिने व्यक्ति भेटिएकै थियो । यत्ति भएपछि जनकल्याणको गड्यौला खेती योजना कार्यान्वयको तहमा जान कुनै समस्या देखिएन ।

‘हामीले ५ लाख रुपैयाँ बजेट उपलब्ध गराउन भनेका थियौं । नगरपालिकाले साढे ३ लाख रुपैयाँ दियो । तर, त्यति पैसा भएपनि हामीले जेनतेन गरेर गड्यौला किनेर ल्यायौं,’ प्रधानाध्यापक कार्कीले भने ।

जनकल्याण माविले काठमाडौँको भिमढुंगाबाट ७० केजी गड्यौला किनेर लग्यो । र, तालिम पनि लियो । खासमा विद्यालयले ६० केजी गड्यौलाको पैसा तिरेको भएपनि विद्यालयले किन्न लागेको भनेर विक्रेताले १० केजी बढी दिएछन् । गड्यौला किन्न र तालिम लिनको लागि १ लाख ८० हजार त खर्च भइनै सकेको थियो ।

gadyaula41692597098.jpg

गड्यौलालाई सेपमा राख्नुपर्ने रहेछ । उसको साइज अनुसार बेग्लाबेग्लै सेप बनाएर राख्नुपर्ने रहेछ । त्यो पनि राखियो । गड्यौला खेती गर्न गोबर चाहिने रहेछ । विद्यालयले एक ट्याक्टर गोबर किनेर ल्यायो । गड्यौलालाई खुवाउनको लागि आवश्यक पर्ने हरियो सागसब्जी त विद्यालय हाताको तरकारी खेतीमै पाइन्थ्यो । त्यो पनि खुवाउन थालियो ।

पख्नुस् है ! विद्यालयको हाताभित्र र बाहिर गरेर १० रोपनी जमिनमा खेतीपाती गरिन्छ । त्यो कुरा पनि छुटिरहेको रहेछ ।

जनकल्याण माविको कम्पाउन्डभित्र ५ रोपनी जमिनमा खेती गरिन्छ । र, त्यहाँ टनेल बनाएर खेती गर्न थालिएको छ । टनेल पनि ५ वटा नै बनाइएको छ । 

‘३ वटा टनेलमा तरकारी खेती गरेका छौं । एउटामा माछा पालन गरेका छौं, अर्काेमा च्याउखेती । कृषिलाई सीपसँग जोड्न यस्तो काम गरिरहेका छौं,’ प्रधानाध्याक कार्की भन्छन् ।

gadyaula31692597096.jpg

विद्यालय हाता बाहिर पनि ५ रोपनी जग्गा भाडामा लिइएको छ । त्यहाँ चाहिने सबै पूर्वाधार विद्यालयले बनाइदिएको छ । खेती लगाउनेदेखि अन्य कृषि काम भने विद्यार्थीले गर्छन् । र, त्यो ५ रोपनी जमिनमा फलेको फलफूल तथा तरकारी विक्री गरिन्छ । यसरी विक्री गरेर आएको रकम भने विद्यार्थी, शिक्षक र विद्यालयलाई भाग लगाइन्छ ।

‘तरकारी विक्री गरेर आएको रकमको ४० प्रतिशत विद्यार्थीलाई, ४० प्रतिशत शिक्षकलाई र २० प्रतिशत विद्यालयलाई हुन्छ । विद्यालयले पैसा नलिएर विद्यार्थीलाई नै दिएको भए पनि हुन्थ्यो । तर, मल, विउ जस्ता कुराहरु किन्दा र पूर्वाधार तयार पार्दा लगानी भएको हुन्छ । विउपुँजी जोगियोस भनेर २० प्रतिशत रकम विद्यालयले लिने गरेको हो,’ प्रधानाध्यापक कार्कीले भने ।

कृषि पढ्ने विद्यार्थी भएकोले सहज

सो विद्यालयमा कृषि विषयको पनि बढाइ हुन्छ । प्रधानाध्यापक कार्कीले दिएको जानकारी अनुसार कक्षा ९ मा २१ जना, कक्षा १० मा १३ जना, कक्षा ११ मा १४ जना र कक्षा १२ मा १७ जना विद्यार्थीले कृषि विषय अध्ययन गरिहेका छन् । यस्तै, प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद (सिटिइभिटी) को कार्यक्रम पनि सो विद्यालयमा लागू भएको छ । त्यसैले सिटिइभिटीमा कृषि विषय पढ्ने विद्यार्थी पनि सो विद्यालयमा छन् ।

विद्यार्थीलाई प्रत्येक वडामा पठाउने

विद्यालयले आफ्ना विद्यार्थीलाई किसानसँग अन्तरक्रिया गर्न प्रत्येक वडामा पठाउने गरेको छ । यसपालि पनि मेयर र उपमेयरसहित नगरपालिकाका पदाधिकारी र प्रतिनिधिको उपस्थितिमा विद्यार्थीलाई अभिमुखीकरण तालिम दिएर किसानकोमा पठाइएको थियो ।

‘यसरी विद्यार्थी पठाउँदा केही कुरा किसानसँग सिक्दा रहेछन् भने केही कुरा किसानलाई सिकाउँदा रहेछन् । यसले किसान र विद्यार्थी दुबै पक्षलाई लाभ पुगेको पाइयो । अहिले हामीले तीनवटा बाहेक सबै वडामा विद्यार्थीलाई पठाएका छौं,’ प्रधानाध्यापक कार्कीले सुनाए ।

फेरि गड्यौलाकै कुरा गरौं । 

थाहा नगरपालिकाको वडा नम्बर ३ मा पर्ने सो विद्यालय भएको क्षेत्र चिसो हुने ठाउँ हो । हिउँदमा तुसारो नै पर्छ । चिसो ठाउँमा माछा पालन र गड्यौला खेती सम्भव छ ?

gadyaula21692597098.jpg

‘हामीले भर्खरै सुरु गरेकोले गड्यौला खेती सम्भव छ कि छैन भनेर यसपालिको हिउदसम्म कुर्नुपर्ने भएको छ । माछा पालन त सम्भव देखियो । च्याउ खेती पनि राम्रै भयो । गड्यौलालाई अलि गर्मी ठाउँ भए उत्तम हुन्थ्यो भन्ने कुरा छ, हेरौं न के कस्तो हुदो रहेछ,’ प्रधानाध्याक कार्कीले भने ।

विद्यार्थीलाई गड्यौला उपहार

विद्यालयले गरेको गड्यौला खेतीबाट उत्पादन भएका गड्यौला त्यहीका विद्यार्थीलाई उपहार दिने योजना बनाएको छ । यसो गर्दा गड्यौलाप्रति विद्यार्थीको आत्मियता जोडिने प्रधानाध्यापक कार्कीले सुनाए ।

‘पढाई सकेपछि जाने विद्यार्थीलाई गड्यौला उपहार दिएर पठाउँछौं । यसो गर्दा विद्यार्थीलाई मैले हुर्काएका गड्यौला मैले नै लिएर आएको छु भन्ने जस्तो पनि महसुस हुन्छ । गड्यौला खेतीको प्रचार प्रसार बढेर रासायनिक मलको प्रयोग पनि कम हुदै जान्छ । र, हाम्रो जमिन, माटो तथा उत्पादित वस्तुको गुणस्तर बृद्धि हुन्छ,’ उनले भने ।

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  ११:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update