Odapalika - The Fourth Estate - चौथो अंग
फुटपाथ प्रकरण : बालेनका स्वकीय सचिवले मागे प्रधानमन्त्रीको राजीनामा 

काठमाडौँ । उच्च अदालत पाटनको आदेशपछि काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रको फुटपाथ फराकिलो बनाउन सुरु गरेको थियो । तर, शुक्रबार फुटपाथ फराकिलो बनाउन नहुने पक्षका स्थानीयवासी र नगर प्रहरीबीच धकेलाधकेलको स्थिति बनेपछि काठमाडौं महानगरका मेयर बालेन शाहका स्वकीयक सचिव भूपदेव साहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । 

सञ्चारकर्मीसँगको कुराकानीमा उनले न्युरोडमा फुटपाथ विस्तारमा विरोध गर्ने एमालेका नेता कार्यकर्ता रहेको दाबी गर्दै प्रधानमन्त्रीको राजीनामा मागेका हुन् । उनले ओली सरकार असफल भएको पनि बताए ।

‘फुटपाथ बढाउने कुरा विवादितजस्तो लाग्दैन ।  पार्टीका मान्छे परिचालित भएका छन्,’ उनले भने, ‘महानगर प्रहरी त स्थानीयसँग वार्ता गर्ने वा भिड्ने होइन । गृह प्रशासनबाट हुनुपर्ने हो । आवश्यक समन्वयका लागि पत्राचार गर्दा हाम्रो हातमा केही पनि छैन भनेर जिम्मेवार निकायका पदाधिकारीले भन्नुले राज्यसंयन्त्रलाई निकम्मा बनाएर राखिएको छ । यो सरकार ‘फेलर’ को स्थितिमा जाँदै छ । नबन्दै फेलरको स्थितिमा गयो । यसले राजीनामा गर्नुपर्छ ।’

अदालतले दिएको आदेश कार्यान्वयन गर्ने सवालमा प्रहरीले शान्ति सुरक्षा मिलाउनुपर्ने भन्दै उनले अदालतको आदेश नमान्नेहरुलाई रोक्ने कि महानगरलाई रोक्ने भन्ने प्रश्नको जवाफ प्रधानमन्त्री र गृहमन्त्रीले दिनुपर्ने बताए । 

उच्च अदालत पाटनको आदेशपछि गएको बुधबारबाट काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रको फुटपाथ विस्तारको काम सुरु गरेको थियो । 

यसअघि महानगरले फुटपाथ विस्तारका लागि भत्काएको स्थानमा क्षेत्राधिकार मिचेको भन्दै सडक विभागअन्तर्गतको सडक डिभिजन कार्यालयले कालोपत्रे गरेको थियो ।

अदालतले बाटाे खाेलिदिएपछि यसरी थाल्यो काठमाडौँ महानगरले न्युरोडको फुटपाथ विस्तार (फोटोफिचर)

सडक डिभिजन कार्यालयको हस्तक्षेपको विरोधमा महानगरपालिकाले उच्च अदालत पाटनमा रिट दर्ता गराएको थियो । रिटमाथि सुनुवाइ गर्दै उच्च अदालतले सहरी सडक स्थानीय तह मातहतमा रहने भन्दै न्यूरोडमा फुटपाथ विस्तारको काम नरोक्न अन्तरिम आदेश दिएको थियो ।

न्युरोड क्षेत्रको फुटपाथ साँघुरो भएको र मापदण्डअनुसार नभएको भन्दै महानगरले सडकलाई साँघुरो बनाउँदै फुटपाथ विस्तार गरेको हो ।

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  १६:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update