Odapalika - The Fourth Estate - चौथो अंग
प्रधानमन्त्री ओलीलाई तीन दलले विश्वासको मत नदिने 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई तीन प्रतिपक्षी दलले विश्वासको मत नदिने निर्णय गरेका छन् । 

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने दुई दिनअघि शुक्रबार बसेको प्रतिपक्षी दल माओवादी केन्द्र, एकीकृत समाजवादी र रास्वपाको संयुक्त बैठकले प्रधानमन्त्री ओलीको विपक्षमा मत दिने निर्णय गरेको छ ।  

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र रास्वपाका सभापति रवि लामिछाने सहभागी थिए ।

बैठकले प्रधानमन्त्रीमा ओलीको नियुक्ति असंवैधानिक भएको ठहर पनि गरेको छ । नेपाल संविधानको धारा ७६ (३)अनुसार नियुक्ति गर्नुपर्नेमा धारा ७६ (२)अनुसार ओलीलाई नियुक्त गरिएको भन्दै असंवैधानिक भएको बैठकले ठहर गरेको हो ।

प्रधानमन्त्री ओलीले आउँदो आइतबार प्रतिनिधिसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव गर्ने भएका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  १७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update