Odapalika - The Fourth Estate - चौथो अंग
उपसभामुख र ज्येष्ठ सदस्य विदामा बसे, अब के हुन्छ कोशीमा विश्वासको मत? 

विराटनगर । कोशी प्रदेशकी उपसभामुख सृजना दनुवार काठमाडौं हिंडेपछि मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने कार्यसूची अलपत्र परेको छ । थापाले आज (सोमबार) विश्वासको मत लिने कार्यसूची तय भएपछि पार्टी निर्देशनमा उपसभामुख दनुवार काठमाडौं हिंडेकी हुन् । 

एमालेबाट निर्वाचित उपसभामुख दनुवार बिहान एती एयरलाइन्सको पहिलो उडानबाट काठमाडौं हिंडेको जनाइएको छ । सत्ता गठबन्धनका तर्फबाट मुख्यमन्त्री बनेका थापाको पक्षमा बहुमत ४७ प्रदेशसभा सदस्यको मात्र समर्थन छ ।  

प्रदेशसभा सञ्चालनका लागि सभामुख र उपसभामुखलाई सहयोग गर्न चार सदस्यीय अध्यक्ष मण्डल छ । अध्यक्ष मण्डलका जेष्ठ सदस्य एमाले प्रदेशसभा सदस्य मालती सुब्बा छिन् । उनले अब केही दिन बैठकमा उपस्थित हुन नसक्ने निवेदन दिएकी छन् भने उनी पछिको ज्येष्ठ सदस्य राप्रपाका अम्बरबहादुर विष्टले पनि अनुपस्थित हुने जानकारी सचिवालयलाई गराएका छन् । 

त्यसपछि अध्यक्ष मण्डलमा कांग्रेसका इस्राइल मन्सुरी र माओवादी केन्द्रकी गीता तिम्सिना सदस्य छन् । उनीहरु मध्य एकले बैठकको अध्यक्षता गरे मुख्यमन्त्रीको पक्षमा बहुमत पुग्दैन । त्यसलाई मध्यनजर गर्दै एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना ज्येष्ठ सदस्यहरूलाई अनुपस्थित हुन निर्देशन दिएका छन् । 

दलको निर्देशन एमाले र राप्रपाका केही सांसदले बिदा लिएका छन् । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ । मुख्यमन्त्री उद्धव थापाको नेतृत्वमा रहेको सरकारलाई कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीको एक गरी ४७ सांसदको समर्थन छ । विपक्षमा एमालेका उपसभामुख बाहेक ३९ र राप्रपाको ६ जना सांसद छन् । 

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  ११:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update