Odapalika - The Fourth Estate - चौथो अंग
बागमतीका मुख्यमन्त्रीले आज विश्वासको मत गुमाउँदै, दाबी गर्ने तयारीमा कांग्रेस  

काठमाडौँ । आज अपराह्न १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

सङ्घीय सरकार परिवर्तनसँगै प्रदेश सरकारमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट सहभागी ५ जना मन्त्रीले गत असार २४ गते राजीनामा दिएपछि मुख्यमन्त्री जम्कट्टेलले सत्ता साझेदार दलका नेताहरूसँगको परामर्शपछि विश्वासको मत लिन लागेका हुन् । 

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जम्कट्टेल गत २०७९ पुसमा नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्र्टी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थियो । 

मुख्यमन्त्रीमा दाबी पेस गर्दै कांग्रेस 

नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेका छन् । 

मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गरिसकेका नेपाली कांग्रेस र एमालेले कांग्रेस संसदीय दलका नेता लामालाई मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्ने तयारी गरेका हुन् । 

मुख्यमन्त्रीमा कांग्रेसका नेता लामाले दाबी पेस गर्ने सहमति भएको एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले बताए । 

यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्र्टी संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने भएको छ । मुख्यमन्त्री जम्कट्टेललाई माओवादी केन्द्रसहित तीन दलले विश्वासको मत दिने भएका छन् । 

उनलाई एकीकृत समजावादी र हाम्रो नेपाल पार्टीले विश्वासको मत दिने निर्णय गरेका हुन् । प्रदेशसभामा माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाल पार्टीका २ जना प्रदेशसभा सदस्य छन् ।

११० सदस्यीय प्रदेशसभामा कांग्रेसका ३७, एमालेका २७, नेपाल माओवादी केन्द्रका २१, राप्रपाका १२, नेपाल कम्युनिष्ट पार्र्टी (एकीकृत समाजवादी)को ७, नेमकिपाका ३ र हाम्रो नेपाल पार्टीका २ जना प्रदेशसभा सदस्य छन् ।

नेपाल मजदुर किसान पार्टीले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने वा नदिने निर्णय गर्न पार्र्टी संसदीय दलको बैठक बोलाएको छ ।

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  ११:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update