Odapalika - The Fourth Estate - चौथो अंग
धितोपत्र बाेर्डको प्रसंग उठाउँदै वर्षमान पुनले भने– देश नेताहरूले चलाउने हो कि विचौलियाले ?

काठमाडौँ । निवर्तमान अर्थमन्त्री वर्षमान पुनले धितोपत्र बाेर्डको अध्यक्ष नियुक्त गर्न आफूले नसकेको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा राखेको विश्वासको मत सम्बन्धी प्रस्तावमा बोल्दै माओवादी केन्द्रका नेतासमेत रहेका निवर्तमान अर्थमन्त्री पुनले यस्तो बताएका हुन् ।

उनले आफूले र आफूभन्दा अघिका अर्थमन्त्री डा. प्रकाशशरण महतले पनि वोर्ड अध्यक्ष नियुक्त गर्न नसकेको र त्यसको कारण विचौलिया रहेको संकेत गरे ।

‘मैले मात्रै होइन, मभन्दा अघिका अर्थमन्त्रीले पनि धितोपत्र वोर्डका अध्यक्ष नियुक्त गर्न सक्नुभएन । म नेताहरुलाई प्रश्न गर्न चाहन्छु– देश नेताहरुले चलाउने हो कि विचौलियाले ?’ पूर्वअर्थमन्त्री पुनले भने ।

‘यो देश राजनीतिक दलका नेता चलाउने हो कि विचौलियाहरूले चलाउने हो ? यो जवाफ छिटै प्रधानमन्त्री दिनुहुनेछ । मेरो अपेक्षा छ, नेताहरुले त्याग गर्नु भएको छ, बलिदान गर्नु भएको छ, जेल पर्नु भएको छ, युद्ध गर्नु भएको छ, नेताहरुले देश चलाइदिनुस् । पार्टीहरुले देश चलाइदिनुस्, विचौलियाहरुले होइन,’ उनले भने। 

उनले विचौलियाको चलखेलका कारण धितोपत्र वोर्डका अध्यक्ष नियुक्त हुन नसकेको संकेत गरे । लामो समयदेखि वोर्डका अध्यक्ष पद रिक्त रहे पनि सरकारले नियुक्त गर्न सकेको छैन ।

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १५:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update