Odapalika - The Fourth Estate - चौथो अंग
श्रम बैंकमा आबद्ध हुन महानगरले आवेदन खुलायो, क–कसले पाइन्छ, कसरी हुने आवद्ध ?

काठमाडौँ । रोजगार नभएका जनशक्तिलाई श्रम बैङ्कमा आवद्ध हुन काठमाडौँ महानगरपालिकाले सूचना प्रकाशन गरेको छ । 

आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रममा महानगर स्वर्णिम योजना अन्तर्गत श्रम बैंक योजना सञ्चालन गर्ने नीति लिएको छ । यो नीति कार्यान्वयनका लागि सूचना प्रकाशन गरेको हो । 

यसबाट सामाजिक विकास, पूर्वाधार निर्माण, मर्मत सम्भार, सम्पदा संरक्षण, वातावरण संरक्षण, सहरी सुव्यवस्था कायम गराउने लगायत क्षेत्रमा काम गर्न चाहिने जनशक्तिको सूचीकरण हुनेछ । 

कसरी हुने आवद्ध ?

महानगरपालिका क्षेत्रमा चालु आर्थिक वर्षको लागि काम गर्न इच्छुक व्यक्तिले kathmandu.gov.np मा गएर सूचना र परिपत्र खण्डमा रहेको ‘काठमाडौँ महानगरपालिका नगर कार्यपालिकाको श्रम बैङ्कमा आवद्ध हुने बारेको सूचना’ मा थिच्नुपर्छ । 

यसपछि खुल्ने पेजमा सूचनाको व्यहोरा भएको र अनुसूची १ बमोजिमको फाराम सम्बन्धी २ वटा फाइल देखिनेछन् । आफूलाई चाहिने जानकारी सूचनाबाट लिन सकिनेछ । अनुसूची लेखिएको फाइल आवेदन भर्ने फाराम हो । यसमा आफ्नो विवरण, आफूले काम गरेको भए अनुभवनको क्षेत्र, आफूले चाहेको काम सम्बन्धी विवसण भर्नुपर्छ । 

फाराममा अन्यसहित ६४ प्रकारका काम उल्लेख गरिएको छ ।  यो फाराम डाउनलोड गरेर भर्न सकिनेछ । भरिएको फाराम आफू बसेको वडामा अथवा महानगरपालिकाको रोजगार सेवा केन्द्रमा बुझाउन सक्नेछन् । 

को–को हुन पाउँछन् आवद्ध ?

श्रम वैङ्कमा आवद्ध हुन स्थायी ठेगाना जहाँ भए पनि हुन्छ । तर, काठमाडौँमा बसेको हुनुपर्छ । किनभने काम गर्न बोलाउने बेला आउन सक्नुपर्ने काठमाडौँ महानगरपालिकाकी प्रशासन महाशाखा प्रमुख सरिता राईले जानकारी दिइन् ।

महानगरपालिकाले चालु आर्थिक वर्षमा पटके वा दैनिक ज्यालादारीमा काममा लगाउँदा यसै सूचीबाट जनशक्ति लिइनेछ । त्यस्तै स्वीकृत दर रेटका आधारमा पारिश्रमिक उपलब्ध गराइनेछ । यसमा काठमाडौँ महानगरपालिकावासीलाई विशेष प्राथमिकता दिइनेछ । 

यसबाट महानगरपालिकालाई आवश्यक पर्ने श्रमशक्तिको उपलब्धता सहज हुनेछ । यसमा सूचीकृत जनशक्तिलाई अन्य सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा समेत उपलब्ध गराउन सकिनेछ । यसले वेरोजगार रहेका श्रम शक्तिलाई रोजगारीमा पहुँच बढाउँछ । श्रम संस्कृतिको विकास गर्छ । यस्तै वैदेशिक रोजगारीमा युवा श्रमशक्तिको पलायनलाई रोकथाम गर्न मद्दत गर्ने विश्वास महानगरको छ ।

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १२:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update