Odapalika - The Fourth Estate - चौथो अंग
प्रधानमन्त्री ओलीलाई विश्वासको मत प्राप्त 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदबाट विश्वासको मत प्राप्त भएको छ । 

प्रधानमन्त्रीमा नियुक्त भएको एक हप्तामै आइतबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको हो । 

मतविभाजनमा लगिएको विश्वासको मतसम्बन्त्री प्रस्तावको पक्षमा १८८ मत परेको सभामुख देवराज घिमिरेले जानकारी दिए । उनका अनुसार बैठकमा उपस्थित सांसदको संख्या २६३ प्रस्तावको पक्षमा १८८, विपक्षमा ७४ र मत दिन्न भन्ने पक्षमा १ मत परेको छ । 

प्रस्तावको पक्षमा परेको मत पारित गर्न बहुमतका लागि पर्याप्त रहेको सभामुख घिमिरेले बताए । प्रधानमन्त्री ओली राखेकाे विश्वासकाे मतसम्बन्धी उक्त प्रस्ताव दुई तिहाइले पारित भएकाे हाे । 

प्रस्तावको पक्षमा कांग्रेस, एमाले, जसपालगायतका दलले मत दिएका थिए भने विपक्षमा माओवादी केन्द्र, रास्वपा, राप्रपा, एकीकृत समाजवादीले मत दिएका थिए । 

अघिल्लो आइतबार प्रधानमन्त्रीमा नियुक्त ओली भोलिपल्ट सोमबार शपथ र पदभार ग्रहणसँगै मन्त्रिपरिषद्लाई पूर्णता दिएका थिए । यसलाई सत्तापक्षले राजनीतिक स्थिरताको संकेतको रुपमा व्याख्या गरेका छन् भने प्रतिपक्षी दलले राजनीतिक स्थायित्व हुनेमा शंका व्यक्त गरेका छन् । 

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १८:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update