Odapalika - The Fourth Estate - चौथो अंग
रञ्जु दर्शनाको विचारमा किन विवादमा परिन् उपसभामुख इन्दिरा राना ?

काठमाडौँ । विवेकशील साझा पार्टीका महासचिव रञ्जु दर्शनाले उपसभामुख इन्दिरा राना विवादमा पर्नुको कारण बारे आफ्नो विचार सार्वजनिक गरेकी छिन् ।

उनले समाजिक सञ्जाल एक्समार्फत आफ्नो विचार सार्वजनिक गरेकी हुन् । उपसभामुख राना अहिले नेपाली नागरिकलाई अवैध रुपमा अमेरिका पठाउन सहयोग गरेको विवादमा परेकी छिन् ।

महासचिव दर्शनाले राष्ट्रिय स्वतन्त्र पार्टीले अराजनीतिक व्यक्तिलाई महत्वपूर्ण जिम्मेवारी दिने र सो पद अनुसारको आचरण बारे प्रशिक्षण नदिने गरेका कारण यस्तो समस्या आएको बताएकी छिन् । दर्शनाको यो भनाईले उपसभामुख राना चुकेको संकेत गर्छ ।

‘रास्वपाले राजनीतिक पृष्ठभूमी नभएका व्यक्तिहरूलाई महत्त्वपूर्ण पदभार सम्हाल्न पठाउने तर सिकाउने ओर्ने केही नगर्नाले एकपछि अर्को यस्तै किसिमका घटना फेरि देखिन सक्छन्। व्यक्तिलाई  नेता बनाउने लामो प्रकृया अनि बाटो हो। रा.स्व.पाले युद्ध मैदानमा बिनाहतियार योध्दाहरूलाई पठाउन हुन्न,’ दर्शनाले लेखेकी छिन् ।

उनले उपसभामुख रानाले प्रिडेट बुकिङका लागि अमेरिकी दुतावासमा पत्र पठाउनु सरासर गलत भएको पनि लेखेकी छिन् ।

‘सम्माननीय उपसभामुख इन्दिरा राना मगरले अमेरिकाको भिषा अन्तरवार्ता डेटको प्रि बुकिंग गर्न आफ्नो समेत अरूहरूको पनि नाम किटान गरेर पत्र पठाउनु भएको कुरा सरासर गलत हो,’ उनले लेखेकी छिन् ।

यस्तै, महासचिव दर्शनाले रास्वपा नेताहरुले ‘पहिलाका नेताहरुले पनि यस्तै गर्थे’ भनेर लज्जा प्रदर्शन गरेको पनि बताएकी छिन् ।

‘पहिलाका नेताहरूले पनि त गरेका थिए, किन केही नबोल्या भन्ने तर्क झन लज्जास्पद हो। किनभने पुराना ठीक भएनन् भनेरै नॅंया आको होईन र ? आचरणको कुरा गर्छौं भने सबै जनाको गरौं भन्ने तर्क सरकारमा कुर्सी रहॅंदै कारवाही गर्न सक्नुपर्थ्यो,’ उनले लेखेकी छिन् ।

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update