Odapalika - The Fourth Estate - चौथो अंग
फिर्के खोलामाथि १४७ घर, महानगर प्रमुख भन्छन्ः सबै भत्काइन्छ 

पोखरा । पोखरा बजारको मध्य भाग भएर बग्ने फिर्के खोलाको प्राकृतिक बहाव पत्ता लगाउन गरी सुरु गरिएको सिमाङ्नको काम सकिएको महानगरपालिकाले जनाएको छ । 

३ साउनबाट सुरु भएको सिमाङ्कन सक्न महानगरलाई १ महिना लागेको छ । पोखरा–१७ बैदामस्थित गाईघाटबाट सुरु गरिएको सिमाङ्कन कार्य पोखरा–१८ को अधेँरीकुनामा दुईवटा खोल्सी जोडिएको ठाउँभन्दा माथिसम्म पुगेर सकिएको महानगरपालिकाका सर्वेक्षक वासुदेव पौडेलले बताए । 

पोखराको मध्यभाग भएर बग्ने फिर्केमा मानवीय अतिक्रमण बढेको छ । खोलाको मापदण्डभित्र व्यक्तिगत तथा सार्वजनिक भवन बनाइएका छन् । सिमाङ्कनका क्रममा खोलामाथि घरघरै घर बनेका पाइएको पौडेलले बताए । नाप जाँचका क्रममा खोलामाथि अविश्वासिलो ढङ्गले अतिक्रमण गरिएको, स्थायी संरचना निर्माण गरिएको र प्रदूषणलगायतका अवस्था भेटिएको उनले बताए ।

याे पनि

पोखरा बजार भएर बग्ने फिर्केखोला बेच्ने को हो ? 

सिमाङ्कन भएको क्षेत्रमा ५८४ पिल्लर र २३९ चिह्न खोलाको दायाँबायाँ गाडिएको छ  । खोलाको नापजाँचका क्रममा १४७ भवन मापदण्ड बाहिर निर्माण गरिएको पाइएको छ । 

खोला अतिक्रमण गरी २५ वटा सामाजिक संघ संस्थाका भवन, ८७ कच्ची र ३५ व्यक्तिगत पक्की घर निर्माण गरिएको पाइएको सर्वेक्षक पौडेलले बताए । अतिक्रमण गरेर निर्माण गरिएको संरचनामध्ये केहीको आधा भागनै परेको बताइन्छ । 

महानगरले पहिलो चरणमा खोला भागको यकिन गरिसकेपछि दिगो पर्यटन विकास परियोजनाअन्तर्गत फिर्के खोलाको संरक्षण, सम्वद्र्धन र विशेष सौन्दर्यीकरणको कार्यक्रम सुरु गर्ने  महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताएका छन् । 

महानगरले यसलाई फिर्के कोरिडोरको रूपमा विकास गर्ने र दुवैतर्फ साइकल लेनसहितको पूर्वाधार निर्माण गर्ने जनाएको छ ।

पोखरा–१८ स्थित सराङकोटको फेदी अँधेरीकुनाबाट सुरु भएर प्रस्याङ, मालेपाटन, बुलौँदी हुँदै फिर्केखोला फेवातालमा गएर मिसिन्छ । 
 

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १२:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update