Odapalika - The Fourth Estate - चौथो अंग
संसद्‌मा आक्रोशित प्रधानमन्त्रीलाई सभामुखको ‘लगाम’ 

काठमाडौं । प्रतिनिधिसभामा सोमबार प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम थियो । कार्यक्रमको सुरुमा कांग्रेस  उपसभापति धनराज गुरुङले राजमार्ग र जलविद्युत्  निर्माण तथा गैरकानुनी कारोबार अन्त्य गर्नबारे सरकारको तयारीबारे प्रश्न गरे । 

उनका प्रश्नको जवाफ दिन सभामुख देवराज घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुमति दिए । त्यसपछि जवाफ दिन थालेका प्रधानमन्त्री ओलीले गुरुङको प्रश्नको उत्तर दिनुभन्दा शून्य समय र सञ्चार माध्यममा सरकारबारे उठेका विषयमा बोल्न थाले । 

प्रधानमन्त्री ओलीले विद्युत् प्राधिकरण र उद्योगी व्यवसायीबीच रहेको डेडिकेटेड र ट्रंकलाइन विवादका विषय, भ्रष्टाचार नियन्त्रण र सरकारले गर्ने समग्र कामबारे बोल्न थाले । आफूहरु सरकारमा आएपछि सकैलाई अफ्ठ्यारो परेको हुन सक्ने भन्दै उनले आफूहरु आग्रह, पूर्वाग्रह र प्रतिशोध नगर्ने बताउँदै लाञ्छनायुक्त राजनीति गर्न नहुने बताए । 

प्रश्नोत्तर कार्यक्रम सुरु हुनुअघि शून्य समयमा माओवादी सांसद लेखनाथ दाहालले डेडिकेटेड र ट्रकलाइन विवादमा प्रधानमन्त्रीले संसदमा झुटो बोलेको आरोप लगाएका थिए । त्यसको जवाफ दिन प्रधानमन्त्री ओली लागिरहे । 

संसदमा जथाभावी प्रश्न सोध्न नहुने भन्दै प्रधानमन्त्री ओलीले भने, ‘हामी गरिमामय संसदमा छौँ । हामी जनताले छानेर पठाएका सांसदले त्यस हैसियतमा बोल्नुपर्छ । कहिले सुन होइन पित्तल चढाएको छ भनेको छ, कहिले अनेकथरि फोटा छपाएको छ, अनेक गरेको छ । यो खालको तरिका माननीयको हैसियतमा शोभनीय हुँदैन, सत्य कुरा गर्न सिक्नुपर्छ । मेरो निवेदन यो गरिमामय सदन सदनजस्तै होस्, हामीले सदनको मर्यादा, गरिमा, यहाँ भएका छलफल यहाँ उठेका विषय, यहाँ उठेका प्रश्न यति हल्काफुल्का झुटा पूर्वाग्रहीपूर्ण हुनुहुँदैन । सुन भनेर पित्तल चढायो भनेजस्ता हावादारी कुरा यस गरिमामय संसदमा नगरियोस् ।’

प्रश्नोत्तर कार्यक्रमअनुसार कांग्रेस उपसभापति गुरुङको प्रश्नको जवाफ नदिएर अन्य विषयमा बोल्न थालेपछि माओवादी केन्द्रका सांसद वर्षमान पुनले नियमापत्ति गरे । 

त्यसपछि प्रधानमन्त्रीलाई एकछिन रोक्दै सभामुख घिमिरेले पुनलाई बोल्न दिए । यसपछि पुनले नियमापत्ति जनाउँदै भने, ‘प्रधानमन्त्रीले कुन चाहिँ सन्दर्भमा बोल्दै हुनुहुन्छ, यो चाहिँ सभामुखले रुलिङ गर्नुपर्छ होला, उहाँ प्रश्न उत्तरमा हुनुहुन्छ ।’

यसपछि प्रतिपक्षी दलका सांसद टेबुल ठटाए उत्साहित भए भने सभामुख घिमिरेले पुनलाई बस्न आग्रह गरे । सोही बेला हो–होल्लाका बीच एमालेका प्रमुख सचेतक महेश बर्ताैलाले उठेर बोल्नका लागि समय मागे । प्रधानमन्त्री ओलीले आफूले प्रश्नोत्तरकै जवाफ दिएको बताए । फ्लोरबाट गाली गरेको भन्ने आवाजको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, ‘मैले प्रश्नोत्तर नै गरिराखेको छु । कसले गाली गरेको छ र ? ( प्रधानमन्त्री बोली रहँदा सभामुख घिमिरेले पुनलाई आशनग्रहणका लागि आग्रह गर्छन् ) गाली नगरौँ भन्दै छु म उल्टै ।’ फेरि पनि पुनलाई आशन ग्रहणका लागि आग्रह गर्दै सभामुख घिमिरेले प्रधानमन्त्रीलाई विशेष केन्द्रित हुन निर्देशन दिन्छन् । 

प्रधानमन्त्रीलाई सभामुख घिमिरेले भने, ‘प्रधानमन्त्रीजीलाई विषय केन्द्रित भएर अगाडि बढ्न म निर्देश गर्दछु ।’

त्यसपछि आफू विषय केन्द्रितमै रहेको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘सभामुख महोदय म विल्कुल विषय केन्द्रित छु । संसदमा उठेका प्रश्नहरुको लिखितको जवाफ दिनुपर्ने त्यो भन्दा अगाडि अलिखित नै बीचमा, बाटैमा नै आइपुग्यो । त्यसकारण यसो नगरौं भन्ने मात्र मेरो आग्रह हो । मैले गाली गलौज गरेको छैन । सचेत मात्र गराएको हुँ ।’
 

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १६:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update