Odapalika - The Fourth Estate - चौथो अंग
सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र नचाहिने 

काठमाडौं । सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र तत्कालका लागि नचाहिने भएको छ । 

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सोमबार देशभरका स्थानीय तहलाई पत्राचार गर्दै सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य नभएको जानकारी दिएको हो । 

देशभर निरन्तर परेको वर्षाका कारण ठाउँ ठाउँमा बाढी, पहिरो र विपद्को अवस्था सिर्जना हुन गएकाले राष्ट्रिय परिचयपत्र बनाउन असहज भएकाले लाभग्राही सूचीकरण तथा नवीकरण गर्न विभागले देशभरकै स्थानीय तहलाई निर्देशन दिएको हो । 

विभागको पत्र :

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग

सामाजिक सुरक्षा शाखा

सिंहदरबार, काठमाडौ, नेपाल

मिति २०८१।०४।०७

ने.सं. ११४४ दिल्लागा, सोमबार

विषयः सामाजिक सुरक्षा भत्ताका लाभग्राहीको लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नभएको ।

श्री स्थानीय तह (७५३) सबै ।

प्रस्तुत विषयमा यस विभागको च.नं. २८, प.सं. २०८१।०८२, मिति २०८१।०४।०४ को सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य लाभग्राहीको सूचीकरण तथा नवीकरण सम्बन्धी पत्र प्राप्त भई व्यहोरा अवगत नै छ ।

गृह मन्त्रालयको प.सं. सा.सु. ०८१/०८२/२२, च.नं. २८, मिति २०८१।०४।०६ को पत्रबाट नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८१।०३।२७ को देहाय अनुसारको निर्णय कार्यान्वयन गर्नु गराउनु भनी लेखी आएको हुनाले सामाजिक सुरक्षा भत्ताका लाभग्राहीको सूचीकरण तथा नवीकरण गर्दा तदनुरुप गर्ने गराउने व्यवस्थाका लागि आदेशानुसार अनुरोध छ ।

देहायः

“नेपाल सरकार, मन्त्रिपरिषद्बाट मिति २०८१।०२।२४ मा सामाजिक सुरक्षासम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय परिचयपत्र (ल्क्ष्म्) अनिवार्य गर्ने निर्णय भई २०८१ साल असार १० गतेको नेपाल राजपत्रमा सूचना प्रकाशन भएकोमा देशभर निरन्तर परेको वर्षाका कारण ठाउँ ठाउँमा बाढी, पहिरो र विपद्को अवस्था सिर्जना हुन गई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नेपाली नागरिकहरूलाई राष्ट्रिय परिचयपत्र बनाउन असहज हुन गएकाले उक्त प्रयोजनका लागि हाललाई राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न गृह मन्त्रालयलाई निर्देशन दिने” ।

महानिर्देशक

बोधार्थ

श्री गृह मन्त्रालय, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखा, सिंहदरबार, काठमाडौँ ।

श्री सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरबार, काठमाडौँ ।

nid-nachahine-1721652682.jpg
 

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १८:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update