Odapalika - The Fourth Estate - चौथो अंग
न्यायपालिका प्रमुखमा श्रेष्ठ अनुमोदित, १३ महिना नेतृत्व गर्न पाउने 

काठमाडौँ । संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठलाई भावी प्रधानन्यायाधीशका रुपमा सर्वसम्मतिले अनुमोदन गरेको छ । 

आज सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले सुनुवाई प्रक्रिया टुंग्याएपछि उनलाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि सर्वसम्मत अनुमोदन गरेको समितिको सभापतित्व गरेका पशुपति शमशेर राणाले बताए । 

‘नेपालको संविधानको धारा २९२ को उपधारा १ बमोजिम संसदीय सुनुवाइको लागि लेखि आएकोमा संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति नियमावली २०८० तथा संसदीय सुनुवाई, समितिको कार्यविधि २०८० बमोजिम सुनुवाई गर्दा प्रस्तावित व्यक्तिको योग्यता, क्षमता र अनुभवसहितको आधारमा संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति, नियमावली २०८० को नियम २६ को उपनियम ५ बमोजिम प्रस्तावित व्यक्तिलाई नेपालको प्रधानन्यायाधीशको पदमा नियुक्तिको लागि सर्वसम्मतिले अनुमोदन गरियो, समितिको निर्णयमा भनिएको छ ।

संसदीय समितिले अनुमोदन गरेका व्यक्तिलाई राष्ट्रपतिले प्रधानन्यायाधीश पदमा नियुत्ति mदिने व्यवस्थाअनुसार उनलाई प्रधानन्यायाधीशमा राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गर्ने छन् । 

श्रेष्ठले कानूनमा स्नातक र राजनीतिशासत्रमा स्नाकोत्तर गरेका छन् । २०३८ सालमा शाखा अधिकृतबाट काम सुरु गरेका उनी २०४५ साल जेठमा दार्चुला जिल्लाबाट न्यायाधीश पदबाट न्यायीक सेवा सुरु गरेका थिए । 

त्यसको ६ वर्षमै जिल्ला न्यायाधीश भएका उनी ०६२ मा तत्कालीन पुनरावेदन अदालत बाग्लुङको न्यायाधीश भए । ०७० मा पुनरावेदन अदालत पोखराको कायममुकाम मुख्य न्यायाधीश भएका उनी ०७१ सालमा पुनरावेदन अदालत हेटौंडाको मुख्य न्यायाधीश भए । त्यसको करिब दुई वर्षपछि उनी ०७३ साउन १७ मा सर्वोच्च अदालतमा नियुक्त भएका हुन । 

उनले अहिलेसम्मको न्यायिक सेवा अवधिमा १८ हजार ६ सय ८२ थान मुद्दाको न्यायिक निरुपण गरेको संसदीय समितिमा बताएका छन् ।  श्रेष्ठले ०८१ असोज २० मा ६५ वर्षे उमेरहदका कारण अवकाश पाउने छन् ।
 

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १४:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update