Odapalika - The Fourth Estate - चौथो अंग
उपत्यकाका नदी आसपासमा जोखिम, दिनभर कहा कहाँ पर्दैछ पानी ? 

काठमाडौँ । रातभर परेको अबिरल वर्षाका कारण काठमाडौंका नदीमा पानी बहाव उच्च बनेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

विभागका अनुसार पानीको सतह वढेका कारण नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरुले आज बिहान ९ बजेसम्म उच्च सतर्कता अपनाउनुपर्नेछ ।

बागमती नदीको खोकना जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरको छ । जलसतह बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्रमा यात्रा गर्ने र बस्नेहरूले सतर्कता अपनाउनुपर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

विभागका अनुसार काठमाडौं उपत्यकाको  सुन्दरीजल, कपन, नैकाप, बबरमहल र आसपास भारी वर्षा भएको छ । 

बागमती, विष्णुमती, धोविखोलालगायत नदीमा जलसतह सतर्कता तह आसपास रहेको छ । नदी तटीय क्षेत्रहरूमा यात्रा गर्ने र बस्नेहरूले बिहान ९ बजेसम्म उच्च सतर्कता अपनाउनुपर्ने विभागको भनाइ छ । 

विभागका अनुसार आज देशका केही भू–भागमा वर्षाको सम्भावना छ । केही स्थानमा बिहानैदेखि वर्षा जारी छ । 

बिहान देशभर साधारणदेखि पूर्णतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका केही तथा लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने तथा कोसी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा मधेस प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई  स्थानमा भने भारी वर्षाको सम्भावना छ ।

राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 
 

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  ०६:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update