Odapalika - The Fourth Estate - चौथो अंग
फुङलिङ नगरपालिकाका इन्जिनियर हुसैनविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा ताप्लेजुङको फुङलिङ नगरपालिकाका (अधिकृत स्तर छैटौं) इन्जिनियर पदमा कार्यरत मो.अख्तर हुसैनविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विषेश अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो ।

इन्जिनियर हुसैनले खेलकुद मैदान निर्माण कार्यमा सेवाग्राहीसँग घुस/रिसवत माग गरेको अख्तियारको आरोप छ । 

अख्तियारले घुस÷रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा  इटहरीबाट खटिई गएको टोलीले हुसैनलाई एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

हुसैनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा एक लाख रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा मु्द्दा दायर गरिएको आयोगले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १०:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update