Odapalika - The Fourth Estate - चौथो अंग
अझै रोकिएन दोलखा भीमेश्वरको पसिना, जनप्रतिनिधिहरू र सिडियो मन्दिर परिसरमा 

काठमाडौं । प्रसिद्ध दोलखाको भीमेश्वरलाई पसिना आएको छ । बुधबार दिउँसो पौने १ बजेबाट भीमेश्वरलाई आउन थालेको पसिना पौन ३ बजेसम्म नरोकिएको भिमेश्वर नगरपालिकाका प्रवक्ता तारानाथ चौँलागाईंले जानकारी दिए । 

‘भिमेश्वरलाई पौने १ बजेबाट पसिना आउन थालेको छ । अहिलेसम्म रोकिएको छैन,’ उनले भने । 

भिमेश्वरलाई पसिना आएपछि जनप्रतिनिधिहरु र प्रमुख जिल्ला अधिकारी (सिडिओ) टुवराज पोखरेल भिमेश्वर मन्दिर परिसरमा आइसकेको जानकारी दिएका उनले सर्वसाधारणको पनि घुइँचो लागेको बताए । 

सुरुमा भिमेश्वरको शिलाकाे शिरबाट पसिना आउन थालेको र त्यसपछि मध्य भागबाट पसिना आइरहेको भिमेश्वर नगरपालिकाका २ नम्बर वडाका वडा अध्यक्ष स्टालिन श्रेष्ठले जानकारी दिए । उनका अनुसार शिरबाट पसिना आउनु राष्ट्रका लागि अहित हुने संकेतको रुपमा धार्मिक आधारमा विश्वास गरिनेछ । 

पसिना आउन थालेपछि बाजागाजासहित भिमेश्वरको आराधना गरिएको र पसना रोकिएपछि राष्ट्र र आमनागरिकसहित कसैलाई कुनै हानि नोक्सानी नहोस् भन्दै क्षमा पूजा गरिने उनले बताए । 

केही दिनअघि पनि एकैदिन भिमेश्वरलाई दुईपटक पसिना आएकाे थियाे ।
 

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १४:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update