Odapalika - The Fourth Estate - चौथो अंग
संसद अवरोधको गाँठो फुक्दै, बैठक र छानविन समिति दुबै आजै 

काठमाडौँ । संघीय संसदअन्र्तगत प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज(मंगलबार) का लागि बोलाइएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले दुबै सदनका बैठकहरूमा अवरोध जारी राखेपछि आजसम्मका लागि बैठक स्थगित गरिएको हो । 

संसद भवन नयाँ बानेश्वर दिउँसो १ बजेका लागि राष्ट्रिय सभा र दिउँसो ३ बजेका लागि प्रतिनिधिसभाको बैठक डाकिएको छ । एमालेले अवरोध नगरे दुबै बैठकहरूमा राष्ट्रपति कार्यालयबाट प्राप्त विभिन्न पत्रहरू जानकारी गराउने कार्यसूची छ । साथै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउनेसहितको कार्यसूची छ ।

त्यस्तै, प्रतिनिधिसभाको बैठकमा सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २४८ को उपनियम (३) को प्रयोजनको लागि प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी निलम्बन भएको जानकारी पनि गराउने छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझी थुनामा छन् । 

कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ्गले नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबाट आयोगको कार्यावधि थप गर्ने गरी जारी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ कोउपदफा (२) बमोजिम सदन समक्ष पेश गर्ने कार्यक्रम छ । यद्यपी मन्त्री गुरुङ भने अस्वस्थ छन् ।  

प्रमुख प्रतिपक्षी नेकपा एमाले त्रिभुवन विमानस्थलबाट भएको सुन तस्करीको छानविन गर्न उच्चस्तरीय छानविन समितिको माग गर्दै १० साउनदेखि संघीय संसद अवरुद्ध गर्दै आएको छ ।

तर सोमवार मध्यरातमा दलहरुबीच सुन तस्कारीबारे छानविन गर्न उच्चस्तरीय समिति बनाउने सहमति जुटेको छ । यो सहमतिसँगै समितिको कार्यादेशलगायतका विषय टुंगो लगाउन ३ सदस्यीय कार्यदल बनेको छ । जसले आज समितिको कार्यादेश र मोडालिटी टुंगो लगाएपछि शीर्ष नेतृत्व बसेर समितिको घोषणा गर्नेछन् । यो सहमतिका कारण आजबाट संसद बैठक नियमित हुने नेताहरुले बताएकाछन् ।      
 

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  ०७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update