Odapalika - The Fourth Estate - चौथो अंग
पाँच दिनभित्र दोलखा भिमेश्वरलाई दुई दिन पसिना, अब के गरिन्छ ?

काठमाडौं । पाँच दिनभित्र दोलखाको भिमेश्वर मन्दिरको शिलामा दुई दिन पसिना देखिएको छ । गएको शनिबार पसिना आएको भिमेश्वरलाई बुधबार पनि लामो समय पसिना आएको हो । 

‘गएको शनिबार दुईपटक भिमेश्वरलाई पसिना आएको थियो । फेरि आज पनि लामो समय पसिना आयो,’ भिमेश्वर नगरपालिकाका मेयर ईश्वर नारायण मानन्धरले बताए । 

बुधबार दिउँसो पौने १ बजेबाट पसिना आएको थियो । करिब अपरान्ह ३ बजेपछि रोकिएको मेयर मानन्धरले बताए । ‘आज लामो समय पसिना आयो । ३ बजेपछि मात्र पसिना रोकिएको थियो,’ उनले वडापालिकासँग भने । 

भिमेश्वरलाई पसिना आएपछि तत्कालै प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, जनप्रतिनिधिहरु मन्दिरमा पुगेको नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ४ का अध्यक्ष तारानाथ चौँलागाईंले जानकारी दिए । उनका अनुसार सर्वसाधारणको पनि बाक्लो घुइँचो लागेको थियो । सुरुमा भिमेश्वरको शिरबाट पसिना आउन थालेको र त्यसपछि मध्य भागबाट पसिना आएको प्रवक्ता चौँलागाईंले जानकारी दिए । 

उनका अनुसार शिरबाट पसिना आउनु राष्ट्रका लागि अहित हुने संकेतको रुपमा धार्मिक आधारमा विश्वास गरिनेछ । उनले पसिना आउन थालेपछि बाजागाजासहित भिमेश्वरको आराधना गरिएको थियो । 

अब के गरिन्छ ? 

भिमेश्वरलाई पसिना आइरहँदा बाजागाजासहित आराधना गरिएको थियो । पसिना रोकिएसँग क्षमा पूजा गरिन्छ । अब पसिना पुछेको कपासलाई प्रसादको रुपमा राष्ट्रपतिलाई दिइन्छ । राष्ट्रपतिले कपास लिँदै राष्ट्रमा अनिष्ट नहोस भन्दै कामना गर्ने चलन छ । यसपछि फेरि क्षमा पूजा गरिन्छ । 

‘शनिबार पसिना आएपछि आइतबार राष्ट्रपतिलाई प्रसाद (पसिना पुछेको कपास) हस्तान्तरण गरिएको थियो । त्यसपछि क्षमा पूजा गर्न बाँकी थियो । फेरि आज पनि पसिना आयो,’ मेयर मानन्धरले भने, ‘अब फेरि राष्ट्रपतिलाई कपास बुझाउनुपर्छ ।’ 

राष्ट्रपतिलाई कपास बुझाइसकेपछि विशेषरुपमा क्षमा पूजा गरिन्छ । ‘हामीहरु छलफल गरेर राष्ट्रपतिलाई कहिले कपास बुझाउने टुंगो गर्छाैँ,’ मेयर मानन्धरले भने । 

राष्ट्रपति कार्यालयबाट पठाएको पूजासामग्री भिमेश्वरमा क्षमापूजा गरिन्छ । भिमेश्वरलाई पसिना आएपछि सो पसिना पुछिएको कपास ‘महाप्रसाद’को रुपमा राष्ट्रपति कार्यालय पठाएपछि त्यहाँबाट क्षमापूजा पठाउने प्रचलन छ । 

पसिनापछिको धार्मिक विश्वास

दोलखा भिमेश्वरलाई पसिना आए राष्ट्रमा अनिष्ट हुने धार्मिक विश्वास रहेको भिमेश्वर नगरपालिकाकाे २ नम्बर वडाका वडा अध्यक्ष स्टालिन श्रेष्ठले बताए । राष्ट्र, जनता कसैलाई पनि अनिष्ट नहोस् भन्ने कामनासहित क्षमा पूजा गर्ने चलन रहेको उनले बताए ।

देशमा ठूल्ठूला विपत्ति र परिवर्तनका बेला भिमेश्वरलाई पसिना आएको थियो । १९९० सालमा भूकम्प आउँदा भिमेश्वरलाई पसिना आएको उनले बताए । उनका अनुसार २०४५ र २०७२ मा भूकम्प आउँदा पनि पसिना आएको थियो । 

नेपालको राजनीतिक परिर्वनका बेला २०४६ र २०६२/०६३ मा पनि पसिना आएको उनले बताए । तर, पसिना आउँदा नराम्रो मात्रै होइन राम्रो हुने पनि उनले बताए ।  
 

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १७:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update