Odapalika - The Fourth Estate - चौथो अंग
३ प्रधानमन्त्री, ५ गृहमन्त्री र ५ महानिरीक्षक चुकेको एउटा ‘क्रुर अपराध’ 

काठमाडौँ । ६ वर्षअघि प्रधानमन्त्री थिए, तत्कालीन नेकपा अध्यक्ष केपी शर्मा ओली, अहिले पनि उनै छन् ।  ६ वर्षअघि गृहमन्त्री थिए, नेकपाकै रामबहादुर थापा । तर, अहिले छन् कांग्रेसका रमेश लेखक । यो ६ वर्षमा ओली दुईपटक प्रधानमन्त्री भए । 

तत्कालीन नेकपा (एमाले र माओवादीबीच एकीकरणपछि पार्टी)लाई सर्वाेच्च अदालतले कानुनी मान्यता नदिएपछि पुनः एमाले र माओवादी आ–आफ्नो अस्तित्वमा आए । ओलीपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भए । प्रचण्ड र देउवापछि ओली हालै प्रधानमन्त्री भएका छन् । 

गएको ६ वर्षमा प्रमुख राजनीतिक दलले सरकारको नेतृत्व गर्‍यो । तर, आमजनताको चासो र चिन्ता रहेको जघन्य अपराधको दोषी भने पत्ता लगाउन नसकेर राज्य संयन्त्र र अनुसन्धानको कमजोर पाटो उदांगियो । तर, अझै न्याय दिलाउन आफू सक्षम रहेको भन्दै आफ्नो बेसुरको बाँसुरी भने सरकारले बजाइरह्यो । 

कुरा हो, २०७५ साउन १० गते, अर्थात आजकै दिन कञ्चनपुरको भीमदत्त नगरपालिका–२, उल्टाखामकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । निर्मलाको हत्यारालाई पक्राउ गरी कानुनी कारबाहीको माग राखेर काठमाडौँसहित देशका अधिकांश स्थानमा प्रदर्शन भए । सोही प्रदर्शनका क्रममा एकजनाको मृत्यु भयो । न्यायको याचना गर्दा एक व्यक्तिले ज्यान गुमाउनुपरेको थियो । तर, ६ वर्ष पूरा भइसक्दा निर्मलाको हत्यारालाई पत्ता लगाउन सरकार असफल भइरहेको छ । 

यो ६ वर्षमा रामबहादुर थापा, बालकृष्ण खाँण, रवि लामिछाने, नारायणकाजी श्रेष्ठ र रमेश लेखक गृहमन्त्री भए । रवि दुईपटक गृहमन्त्री भए । सञ्चारकर्ममा रहँदा निर्मलाको न्यायका लागि टेलिभजनको स्क्रिनमा चिच्याएका रवि आफैँ दुईपटक गृहमन्त्री हुँदा निर्मला र उनको परिवारलाई न्याय दिन सकेनन् । 

पहिलोपटक उपप्रधान तथा गृहमन्त्रीको पदभार ग्रहण गर्दै रवि लामिछानेले आफ्नो पहिलो निर्णय नै निर्मलाको हत्यारालाई कानुनको दायरामा ल्याएर उनी र उनको परिवारलाई न्याय दिने थियो । दोस्रोपटक उपप्रधान तथा गृहमन्त्री भएर पदमुक्त हुँदा गृहमन्त्रालयबाट बाहिरिँदै गर्दा उनले निर्मलाको हत्यारा नजिक पुगेको बताउनुबाहेक अन्य न्यायको आशासमेत जगाउन सकेनन् । अर्थात् पुराना पार्टीले देशमा सुशासन कायम र न्याय दिन नसकेको भन्दै आएको नयाँ पार्टी रास्वपाको नेतृत्व गरेर सत्तामा पुगेका रवि पनि अघिल्ला गृहमन्त्रीजस्तै परिणाम शून्य बनाएर गृहमन्त्रालयबाट बिदा भए । 

निर्मलाको हत्यादेखि आजसम्म ५ प्रहरी महानिरीक्षक भए । घटना हुँदा सर्वेन्द्र खानल नेपाल प्रहरीको महानिरीक्षक थिए । त्यसपछि क्रमशः ठाकुरप्रसाद ज्ञवाली, शैलेश थापा क्षेत्री र धिरज प्रताप सिंह कार्यकाल पूरा गरी अवकाश भए । र हाल महानिरीक्षकमा बसन्तबहादुर कुँवर छन् । 

निर्मलाको न्यायका लागि ३ प्रधानमन्त्री, ५ गृहमन्त्री र ५ महानिरीक्षकको भनाइमा तात्त्विक भिन्नता रहेन । सबैले दोषीको नजिक पुगेको बताए । उनीहरुले कहीँ न कहीँ, कुनै न कुनै बेला निर्मलाबारे अभिव्यक्ति दिए, दिइरहेका छन् । तर, ६ वर्ष पूरा भइसक्दा पनि एक किशोरीको बलात्कारपछि हत्याजस्तो जघन्य अपराधको दोषी पत्ता लगाउन सकेनन् । राजनीतिमा कथनी र करणी एउटै हुँदैन भन्ने प्रधानमन्त्री र गृहमन्त्रीले अघोषित रुपमा स्थापित गर्दा कयौँ अनुसन्धानका फाइल केलाएर महानिरीक्षक बनेका ५ जनाले पनि निर्मलालाई न्याय दिन सकेनन् । जसले गर्दा अनुसन्धान र राज्यसंयन्त्रको कमजोरी जनतामाझ छर्लङ्ग भयो । 

रोचक त सो घटनाको अनुसन्धान गर्न ६ समिति बने, १२४ जनाको डीएनए परीक्षण र ६५५ जनासँग सोधपुछ गरियो भने अनुसन्धानका क्रममा हालसम्म बीटीएस ट्रयाकमा देखिएका करिब ५०० मोबाइलको प्राविधिक विश्लेषण गरिएको छ । तर, नतिजा शून्यजस्तै छ । आमनागरिक र पीडितलाई चाहिएको दोषीलाई कारबाही हो । दोषीलाई कानुनी कठघरामा उभ्याउन नसक्दासम्म अनुसन्धानका विविध प्रक्रिया र कार्यलाई जनताले उपलब्धी मान्न बाध्य छैनन् । 

२०७५ साउन १० गते साथीको घर गएकी निर्मला पन्तको भोलिपल्ट साउन ११ गते बिहान ९ बजे भीमदत्त नगरपालिका–१८ निम्बुुखेडास्थित उखुबारीमा बलात्कारपछि हत्या गरेको अवस्थामा शव फेला परेको थियो । 

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १३:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update