Odapalika - The Fourth Estate - चौथो अंग
मिडियाको नाममा राज्यशक्तिको यो हदको दुरुपयोग, स्वास्थ्य सचिवलाई कसले दियो यस्तो अधिकार ?

काठमाडौँ । पहिला पहिला नेपालमा नेपाल बन्द हुन्थ्यो । र, नेपाल बन्दमा सवारी साधन चलाउन पाइदैनथ्यो । तर, प्रेस लेखेपछि भने पाइन्थ्यो । त्यसैले नेपाल बन्दको समयमा मोटरसाइकलको हेडलाइटनेर पे्रेस लेखेर कुखुरा ओसार्ने धन्दा पनि खुबै चल्यो । प्रेस लेखेपछि नचल्ने केही थिएन त्यो बेला ।

लोकतन्त्र स्थापना भएपछि प्रेसको स्तरोन्नति भएछ । अब त मिडियाका नाममा हुने कार्यक्रम मनाइदिन पनि नेपाल सरकारका सचिवको संयोजकत्वमा समिति गठन हुन थालेछ । पत्याउनु भएन ? हो के । मिडियाको नाममा हुन लागेको एउटा कार्यक्रम मनाइदिन मन्त्रालयले सचिवको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गर्न थालेको छ ।

यसको सुरुवात चै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेछ । मन्त्रालयले जेठ ६ गते सचिव स्तरीय निर्णय गर्दै स्वास्थ्य खबरको १२औं अवार्ड वितरणका विधाहरु र अवार्ड नोमिनेसको प्रक्रिया अघि बढाउने र एक दिवसिय डिजिटल हेल्थ कन्फ्रेन्स कार्यलाई आवश्यक सहयोग एवं सहजीकरण गर्न मन्त्रालयका सचिवको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरेको हो ।

swasthya-khabar-letter-1721893151.jpg
समितिको संयोजक भने अतिरिक्त स्वास्थ्य सचिव डा. विकास देवकोटालाई तोकिएको छ । नेपाल सरकारको सबैभन्दा ठूलो पदमा आसिन कर्मचारीलाई एउटा निजी क्षेत्रको मिडियाले आयोजना गर्न लागेको कार्यक्रमको सहजीकरण गर्ने समितिको संयोजकको जिम्मेवारी ? मिडियाको स्तर कति धेरै बढेछ नि !

स्वास्थ्य खबर फाउन्डेसन भनिएको छ । तर, यो संस्था स्वास्थ्य खबर डटकमसँग सम्बन्धित रहेछ । स्वास्थ्य खबरमा असार १ मा प्रकाशित एक समाचारले यसको पुष्टी गर्छ । समाचार हेर्न मन भए यहाँ क्लिक गर्नुहोला ।

मन्त्रालयले गठन गरेको अवार्ड कार्यक्रमको आयोजक समिति संयोजकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा विकास देवकोटा छन् । सदस्य सचिव डा. मदनकुमार उपाध्याय हुन् । सदस्यहरुमा डा कृष्ण पौडेल, डा चुमनलाल दास, कपिल तिमिल्सेना, भोगेन्द्र डोटेल, अनिल न्यौपाने, किमत अधिकारी  र भगवान श्रेष्ठ छन् । अनिल न्यौपाने स्वास्थ्य खबर डटकम संचालन गर्ने समुहको अर्काे मिडिया नेपाल लाइभका अध्यक्ष हुन् । स्वास्थ्य खबर डटकमको अध्यक्ष चै नर्वदा न्यौपाने छिन् ।

डाक्टरै डाक्टरको यो समितिले के काम गर्छ वा गर्यो उनीहरु नै जानुन्, तर निजी स्वार्थपूर्तिका लागि राज्य संयन्त्र र स्रोतको दूरुपयोगले भने चरमोत्कर्ष पार गरेको छ । 

यो पनि...

राजस्व नतिरी फरार रहेको नयाँ पत्रिकालाई किन लागेछ विजुली बिलको चिन्ता ?

यो काम कसले गरेको भन्ने तपाईंलाई लाग्न सक्ला । यो काम निर्देशन दिने व्यक्ति तत्कालिन स्वास्थ्यमन्त्री प्रदीप यादव हुन् । समिति गठनको निर्णय गर्ने व्यक्ति स्वास्थ्य सचिव डा. रोशन पोख्रेल हुन् ।

देख्नु भयो नि हाम्रा मन्त्री, मन्त्रालय र सचिवज्यूहरुको काम । त्यो निर्णय गर्ने सचिव डा रोशन पोख्रेल अहिले पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवको जिम्मेवारीमा छन् । त्यो बेला स्वास्थ्यमन्त्री प्रदीप यादव अहिले खानेपानी मन्त्री छन् । आशा गरौं– खानेपानी मन्त्री यादवले अब कुनै मिडियाको नाममा व्यक्तिगत इनार खन्ने समिति गठन गर्ने र त्यसको संयोजक सचिवलाई तोक्ने हिम्मत गर्ने छैनन् ।

यो निर्णय देखेपछि लाग्यो– नेपालमा सचिव कति सस्ता ? मन्त्रालय कति सजिला ? मन्त्री कति सहजकर्ता ? मिडियाको नाममा धन्दा गर्न यति सजिलो भएपछि जे गरेपनि भएन ? लौ ! लुट्न सके लुट कान्छा....

[email protected]

(डिस्क्लेमरः हामीलाई शिडिसु नेपालीको नाममा प्रमाणसहित यस्ता सामग्रीहरु प्राप्त भइरहेका छन् । मिडियासम्बद्ध सामग्री पनि आएकोले हामी यसमा केही सजग पनि भएका छौं । मिडियालाई दोषारोपण गर्ने हिसावले पो सामग्री आए कि भनेर हामीले तथ्य र प्रमाण चेक गर्ने प्रयास पनि गरेका छौं । हामीले साउन ९ गते नयाँ पत्रिकासँग सम्बन्धित सामग्री प्रकाशन गर्नुपूर्व पनि सो पत्रिका ननफाइलर हो कि होइन भनेर बुझ्दा हो भन्ने पुष्टी भएपछि सामग्री प्रकाशन गरेका थियौं । आज प्रकाशन गर्न लागेको सामग्रीको प्रमाणका रुपमा प्रस्तुत पत्र हो कि होइन भनेर हामीले सो पत्रमा हस्ताक्षर गर्ने डा. मदनकुमार उपाध्यायलाई फोन गरी बुझेका थियौं । डा. उपाध्यायले सो निर्णय भएको र पछि ‘कार्यक्रम पनि सकिएको र निर्णय पनि सच्याइएको’ प्रतिक्रिया दिएपछि हामीले प्रमाण सहि रहेछ भन्ने लागेर यो सामग्री प्रकाशन गरेका हौं । सं.)  

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १३:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update