Odapalika - The Fourth Estate - चौथो अंग
१ अर्बको तरकारी बेच्ने थाहा नगरको कृषि क्रान्तिका कथा 

काठमाडौँ । केही दिन अघि उद्योग बाणिज्य संघले थाहा नगरपालिकामा आयोजना गरेको कार्यक्रममा अतिथिहरुलाई तरकारी उपहार दिइयो । धेरैलाई लाग्नसक्छ, वाणिज्य संघले पाहुनालाई अपमान गरेर तरकारी बाँढ्यो । 

महासंघको यो अभियानपछि थाहा नगरपालिकाले कृषिमा प्राप्त गरेको सफलता थाहा पाएर तपाईले पक्कै जिव्रो टोक्नुहुन्छ । 

मकवानपुरमै कृषि क्रान्तिमा अब्बल थाहा नगरका कृषकले गत आर्थिक वर्षमा मात्र १ करोड रुपैयाँ तरकारी बेचेरै कमाए ।

नगरपालिकाको कृषि शाखाको तथ्यांकले भन्छ, यहाँका १२ वडाका कृषकले आलु बेचेर मात्र गत वर्ष ४५ करोड रुपैयाँ कमाए । यसपटक यो रकम दोब्बर पार्ने अभियानसहित कृषकहरु खेतबारीमा पसिना बगाइरहेका छन् । 

अनुदानको मज्जा 

सोमबार नगरपालिकाले वेभसाइटमा एउटा सूचना जारी गरको छ । सूचनाअनुसार नगरपालिकाले तरकारी खेतीका लागि ५५ वटा वटा टनेल बनाउन ६० लाख ७५ हजार रुपैयाँ बजेट दिने घोषणा गर्दै पालिकाभित्रका कृषक समूह र फार्महरुलाई निवेदन आह्वान गरेको छ । 

इच्छुक कृषकले टनेल खेतीका लागि नगरपालिकाबाट कुल लागतको ५० प्रतिशत अनुदान पाउने छन् । 

यसो गर्दा नगरले दिएको अनुदान रकमसहित कृषकहरुले खेतीका लागि टनेल र थोपा सिंचाइका लागि समेत गरेर १ करोड २१ लाख ५० हजार रुपैयाँ कृषिजन्य उत्पादनका लागि लगानी गर्नेछन् । 

यो लागतअनुसारको प्रतिफल प्राप्त हुँदा गरभित्रका कृषकले एउटै टनेलबाट गतवर्षको भन्दा दोव्बर आम्दानीको लक्ष्य सजिलै भेटन सक्छन् । 

यो कार्यक्रमका लागि नगरपालिकाले ५० प्रतिशत अनुदान दिने र त्यसका लागि ३० दिन भित्र रितपूर्वक निवेदन दिनुपर्ने नगरप्रमुख विष्णुबहादुर विष्ट बताउँछन् । 

तरक्कीका सृङ्खला 

नगरपालिकाले कृषि क्रान्तिका लागि यसवर्षबाट एउटा कार्यक्रम ल्याएको छ– मेयर वडास्तरीय तरकारी पकेट प्याकेज कार्यक्रम । 

१२ वटा वडाका ३ स्थानमा संचालन गरिने यो कार्यक्रमका लागि नगरपालिकाले ३६ लाख रुपैयाँ बजेट छुट्याएको छ । 

यो कार्यक्रम संचालन गर्न नगरपालिकाले तरकारी पकेट कार्यक्रम संचालन निर्देशिका बनाएको छ । जुन निर्देशिकाको अधिनमा रहेर यहाँका कृषक समूह, कृषि सहकारी, कृषक फार्म र कृषक कम्पनीले प्रस्ताव पेश गर्नेछन् । यी प्रस्तावमध्येबाट छानिएका ३ वटाले वडास्तरीय तरकारी पकेट कार्यक्रम संचालन गर्न पाउनेछन् । र यो कार्यक्रममा नगरले दिएको बजेटबाट बिउ, टनेल, मलखादलगायत खरिद गर्न पाइने नगरपालिकाको भनाइ छ । 

चिप्स आलुको अर्को प्रस्ताव 

नगरपालिकाले यसवर्ष कृषकहरुलाई चिप्स आलुको विउ उत्पादनका लागि ५० प्रतिशत अनुदानमा अर्को कार्यक्रम पनि अघि सारेको छ । 

चिप्स आलु बिउ उत्पादन कार्यक्रम नाम दिइएको यो कार्यक्रममा मात्र नगरपालिकाले १३३ रोपनी जग्गामा खेती गर्नका लागि ५ लाख रुपैयाँ अनुदान दिदै छ । 

यसमा सहभागी भएर अनुदानसहितको लाभ लिन कृषक समूहहरुले नगरपालिकाको कृषि शाखामा रितपूर्वक निवेदन दिनुपर्ने र छानिएका समूहलाई ५ वर्षे आलुको बिउ उत्पादन चक्रमा समावेश गराएर अनुदान दिइने छ । 

गत वर्षको तरक्की 

कृषिमा अब्बल काम गरिरहेको थाहा नगरपालिकाले हरेक वर्ष किन कृषि उत्पादनमा लगानी वढाउँदै छ त? 

कृषि शाखाका अधिकृत सञ्जय तिवारीको सूचना विश्लेषणले भन्छ– थाहाका कृषक मिहिनेती मात्र छैनन्, नगरपालिकालको अनुदान नीतिपनि तरकारी उत्पादनका लागि कृषकका लागि बरदान सावित हुँदैछ ।

सञ्जय तिवारीले हामीलाई दिएको जानकारी अनुसार गतवर्षका कृषि कार्यक्रम (जुन यसवर्ष पनि निरन्तर छन्)का कृषकले लाभ मात्र लिएका छैनन, देशभरका उपभोक्ताले थाहानगरको कृषि उत्पादनको स्वाद पनि चाख्न पाएका छन् । 

माथि उल्लेख गरिएअनुसार १ अर्ब रुपैयाँ भन्दा वढीको तरकारी एउटै पालिकाबाट उत्पादन हुन नगरपालिकाले गत वर्ष निम्नानुसारका कार्यक्रम अघि सारेको रहेछ । 

टनेल अनुदान 

गत वर्ष खेती गर्ने कृषकलाई टनेल बनाउन नगरपालिकाले ५० प्रतिशत अनुदान दिएर टनेल बनाउने प्रयोजनका लागि मात्र १८१ टन प्लाष्टिक बितरण गरेको छ । मल्चिङ प्लाष्टिक मात्र ५५६ रोल वितरण भएको देखिन्छ । 

५० प्रतिशत अनुदानमा २१६ वटा विषदी छर्कने मेसिन वितरण गरेको नगरपालिकाले नमूना टनेल कार्यक्रम पनि संचालन गरेको छ । 

नगरपालिकाले वडा नम्बर १, २, ३, ६ र १० का कृषकलाई ९० रोपनी जमिनमा टनेल बनाउन सहयोग गर्यो । जसका कारण ५ वडाका कृषकले ९० रोपनी जग्गामा टनेल बनाएर तरकारी उत्पादन गरे । 

ट्रयाक्टरदखि हाइब्रिड बिउसम्म 

नगरपालिकाले ५० प्रतिशत अनुदान दिएर १२३ वटा हाते ट्रयाक्टर बितरण गर्यो ।  कृषकका लागि ७५ प्रतिशत अनुदान दिएर २ हजार ४१७ केजी कृषि चुन पनि उपलव्ध गरायो । ५० प्रतिशत अनुदानमै थोपा सिचाइ कार्यक्रममार्फत २४ कृषक समूहले अनुदान पाए । 

मकैको हाइब्रिड बिउमात्र नगरपालिकाले ५० प्रतिशत अनुदानमै १ हजार ९२६ किलो कृषकलाई उपलव्ध गरायो । 

१२ लाखको अनुदानले २८ लाखको काम 

नगरपालिकाले तरकारी बाली पकेट विकास कार्यक्रमअनतर्गत वडा नम्बर २ का कृषक समूहलाई गत वर्ष १२ लाख रुपैयाँ अनुदान दिएको थियो । यो अनुदान रकमबाट यहाँका कृषकले १४० रोपनी जमिनमा कृषि बाली लगाए । 

वाली पूर्वाधारका लागि नगरपालिकाले १२ लाख र सम्वन्धित वडाले ४ लाख अनुदान थपेपछि वडावासीले २८ लाख रुपैयाँ लागतमा तरकारी खेतीका लागि आवश्यक पूर्वाधार निर्माण गरेर खेती थाले । जसको परिणामास्वरुप ती वडाका कृषकले मनग्य आम्दानी मात्र गरेनन्, पालिकाको अनुदानलाई सही ठाउँमा सदुयोग गरेर देखाइदिए ।

फलफूलका विरुवा पनि दिन्छ पालिका 

तरकारी खेतीमा मात्र होइन नगरपालिकाले फलफूलका विरुवामा समेत अनुदान दिने गरेको छ । 

नगरपालिकाले बितरण गरेको ५९० बोट किवी, ४५० वोट जापानिज हलुवाबेद, २६५ बोट ओखर, ८२५ वोट एभोकाडो र २ हजार ७३६ बोट कागतीका विरुवा थाहा नगरका कृषकका बारीमा हुर्कदै छन् । अर्का २ देखि ५ वर्षभित्रमा यी विरुवाले पर्याप्त फल दिन थाल्नेछन् । 

अनुगमन र तालिम सँगसँगै 

कृषि उत्पादनमा अनुदानको वाढी लगाएको थाहा नगरपालिकाले अनुदानको सदुपयोग भए नभएको नियमित अनुगमन पनि गर्छ । 

अनुगमनका लागि प्राविधिकहरुको टोली हरबखत कृषकका बारी र खेतमा पुगिरहन्छ । अनुगमन टोलीले अनुदानको सही सदुपयोग भएको प्राविधिक रिपोर्ट दिएपछि मात्र कृषकले अनुदानवरावरको रकम भुक्तानी पाउँछन् । 

र यस्तो पेमेन्ट नगरले नगदमा दिदा दुरुपयोग हुने भन्दै इपेमेन्ट मात्र गर्ने गरेको छ । यसो भएपछि कुनै एक व्यक्तिले मात्र लाभ लिन र अन्य कृषक मर्कामा पर्ने सम्भावना पनि नहुने नगरपालिकाको भनाइ छ । 

नगरपालिकाले कृषि पेशामा संलग्न कृषकलाई बारम्वार तालिमहरु समेत दिने गरेको छ ।  २५ जना कृषकले भर्खरै फर्टिलाइजेसन तालिम पाएका छन् । ३ दिने यो तालिम २ चरणमा भयो । आलु खेती कसरी गर्ने भन्ने तालिम पनि नगरपालिकाले बेला बेलामा सञ्चालन गर्ने गर्छ । 

मकैदेखि कुरिलोसम्म प्राथमिकतामा 

नगरपालिकाले तरकारी खेतीसम्वन्धि विभिन्न तालिम उपलव्ध गराइरहेको छ । 

नगरको कृषि शाखाका अनुसार तरकारी खेती प्रवद्र्धन कार्यक्रम मार्फत कृषकहरुले यसता तालिमको अवसर पाउँछन् । 

मकै खेती प्रर्वद्धन कार्यक्रममार्फत तालिम र अनुदान दिइरहेको नगरभित्र कुरिलो खेती प्रर्वद्धन कार्यक्रम भने प्रदेश सरकारको बजेटमा सञ्चालनमा छ । 

१ हजार भन्दा वढी कृषक समूह पालिकामा सक्रिय हुँदा एक वर्षमा ५ हजार भन्दा वढी कृषकले प्रत्यक्ष अप्रत्यक्ष रुपमा पालिकाको अनुदानबाट लाभ लिएका छन् । 

यसवर्ष दूध उत्पादन गर्ने कृषकलाई हौस्याउन पालिकाले १० लाख रुपेयाँ बजेट छुट्याएको छ । यो रकम सवबैभन्दा वढी दूध उत्पादन गर्ने कृषक र समूहलाई अनुदानका रुपमा बाँढिने छ । 

५ रोपनी भन्दा माथिको जग्गामा सामूहिक टनेल खेती गर्ने कृषक समूहले यस वर्षबाट पालिकाको थप अनुदान पाउँदैछन् । 

थाहा नगरभित्र बसोवास गर्ने नागरिकका लागि नगरपालिकाको यस्ता कृषिमुखी कार्यक्रम लोकप्रिय मात्र होइन अन्य पालिकाका लागि अनुकरणयोग्य पनि हुने देखिन्छ । 

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १०:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update