Odapalika - The Fourth Estate - चौथो अंग
आफ्नै घरमा जुवाखाल चलाउने गाउँपालिका अध्यक्षसहित १० जनाविरुद्ध मुद्दा दायर

काडमाडौं । आफ्नै घरमा जुवाखाल चलाउने रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्बु स्याङ्बो घलेसहित १० जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको छ । 

यही साउन ५ गते बूढानीलकण्ठ–१० स्थित घलेको अढाइ तले घरबाट प्रहरी प्रभाग, कपनको टोलीले उनीहरुलाई पक्राउ गर्दै नगद १ लाख ३६ हजार ५०० रुपैयाँसहित जुवा खेल्न प्रयोग हुने क्वाइन ३७ वटा र ६ बुक तास समेत बरामद गरेको थियो ।

यसपछि प्रहरी वृत्त, बौद्धले अनुसन्धान गरेर बुझाएको रायसहितको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले बिहीबार अदालतमा उनीहरुविरुद्ध मुद्दा दर्ता गरेको हो । 

मुद्दामा घलेसहित प्रवीण लामा, रमेश लामा, चीनकुमार गोले, सुमन गोले, ऋतिक राउत, कविराज भनिने सुक्र सुनार, राजु तामाङ, दिनेश सुनार र विष्णुकुमार दोङलाई प्रतिवादी बनाइएको छ । 

मुलुकी अपराधसंहिता, २०७४ को दफा १२५ मा जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने भनिएको छ । पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिबाना, दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिबाना र त्यसपछिको कसूरमा पटकैपिच्छे थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिबाना संवैधानिक व्यवस्था छ । 

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  १३:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update