Odapalika - The Fourth Estate - चौथो अंग
पर्यावरण जोगाउन तस्कर र माफियासँग भिडिरहेका हिरालाल 

महोत्तरी । रातको ११ बजेपछि सरोकारवालाहरूको मोबाइलमा हरेक राति एउटा अपरिचित नम्बरवाट फोन आउँछ । फोन रिसिभ गरेपछि सबैलाई एउटै सूचना प्राप्त हुन्छ कि रातु नदीको भंगाहा क्षेत्रमा अवैधानिक उत्खनन हुँदै छ ।

यो समयमा सबै मानिसहरू निदाएका हुन्छन् । तर, पर्यावरणमाथि भएको अन्यायले महोत्तरी भंगाहा नगरपालिकाका स्थानीय हिरालाल महतोलाई भने जागा नै बनाउँछ, अनि प्रमुख जिल्ला अधिकारी, समन्वय समिति, प्रहरीका मोबाइलमा हरेक राति यस्तै सूचना आउँछ ।

महतोले टिप्पर र डोजर लिएर खोलामा प्रवेश गरिरहेका तस्करहरूको पहरेदारी गर्न लागेको आधा दशकभन्दा बढी भयो । उनी अपांग छन् । उनको एउटा खुट्टा जन्मजात अपांग छ, हिँड्डुल गर्दा निकै सकसका साथ गर्नुपर्छ । तर, पर्यावरण जोगाउने उनको अभियान अथक छ ।

पाँच वर्षको अवधिमा महतो खोलाको निगरानी गरेकै कारण कयौंपटक माफियाहरूको निशाना बनेका छन् । कहिले झुट्टा मुद्दा त कहिले धाकधम्की, कहिले भौतिक आक्रमणको प्रयास त कहिले  तर्साउने प्रपञ्चको सामना गरेका छन् ।

तर, महतोको अविछिन्न अविचलित संघर्ष दिनचर्या नै बनेको छ । रातको २ बजेसम्म जागा नै वस्नु, विहान पुनः खोलामा अनौपचारिक अनुगमन गर्नु उनको दैनिकी हो ।

महोत्तरीमा मुख्य समस्या भनेको नै नदी उत्खनन हो । उत्खनन गरेर रातारात धनी बन्ने तस्करहरूको  उद्देश्यमा काहीँ न काहीँ जनप्रतिनिधिहरूको समेत मिलोमतो रहेको बेला–बेलामा चर्चा हुने गर्छ ।

रातारात हुने अवैधानिक र अवैज्ञानिक उत्खनन कै कारण भूमिगत पानीको सतह घटिरहेको छ भने यथास्थानमा रहेका कल र ट्युबवेल काम नलाग्ने अवस्थामा पुगेका छन । जिल्लाको उत्तरी क्षेत्रमा भइरहेका भयावह उत्खननको शिकार दक्षिणी क्षेत्रमा बसोबास गर्ने सर्वसाधारण बनेका छन् ।

अवैज्ञानिक उत्खनन र तस्करीलाई नरोकेसम्म समस्या यथावत रहिरहने महतोको अडानलाई कतिपयले व्यक्तिगत पूर्वाग्रह भएको आरोप लगाउने गर्दछन् । तर, उनको अडान र संघर्ष आजपर्यन्त टड्कारो मुद्दाको रुपमा स्थापित बन्दै गएको छ ।

खोला मात्र हैन राजस्व छली गर्दै वरपर निजी जग्गाको नाममा गहिरा खाल्डा खनेर नदीजन्य पदार्थ ओसारपसार गर्ने तस्करहरूलाई समेत खबरदारी गर्दै महतो राज्यप्रतिको उत्तरदायित्वलाई समेत झकझ्क्याउने गर्दछन् ।

यसैको परिणामस्वरूप केही दिन अगाडि मात्र तस्करहरूले  उनलाई हातपात र आक्रमणको प्रयास गरेका थिए ।  खेतमा गहिरा खाल्डा खनिरहेको देखेपछि महतो नजिकै गएर भिडियो खिच्न थाले । अनि सोधे– आईई रिपोर्ट छ कि छैन भनेर ।

‘यति के मात्र सोधेको थिएँ । उनीहरूले मेरो मोबाइल खोसे, हातपात गर्न खोजेपछि जसोतसो फुत्केर बर्दिवास आइपुँगेँ,’  महतोले भने, ‘नभागेको भए मलाई कुटपिट गर्न सक्थे ।’ 

आफूमाथि हातपात गर्नेविरुद्ध उनले किटानी जाहेरी दिएका छन् । तर, प्रहरीले पक्राउ गरेको छैन । 

यो त एउटा उदाहरण मात्र हो । पर्यावरण रक्षाको लागि सयाँै पटक धाकधम्की र आक्रमणको सिकार बनेका महतोले कहिल्यै ज्यानको प्रवाह गरेनन् ।  

डाका मुद्दा 

महतोले नगर क्षेत्रमा हुने अवैधानिक र अवैज्ञानिक उत्खननले जनजीविकामाथि गम्भीर असर पु¥याउँछ भन्ने विषय बुझाउन निकै समय लाग्यो ।

विस्तारै महतोको अभियानमा दैनिक सयौँ स्थानीयहरू समेत जोडिन थाले । यो २०७५ सालतिरको कुरा हो, स्थानीयहरू उत्त्खननविरुद्व एकजुट हुन थालेपछि माफियाहरूको भागाभाग भयो । 

माफियाहरूले कुनै न कुनै षड्यन्त्रको आन्तरिक गृहकार्य गरिरहेका थिए । यत्तिकैमा २०७५ सालतिर नै गाउँको एकजनाको घरमा चोरी भयो ।

उक्त चोरीको मुख्य मतियारको रुपमा महतोलाई उनीहरूले जिल्ला अदालतमा मुद्दा दायर गरे सोही झुठो मुद्दाको तारेख उनले अहिले पनि धाइरहेका छन ।

निम्न आय भएका महतोमाथि आफ्नै पारिवारिक जिम्मेवारी छ । उनका दुई छोराहरू छन् । मुख्य पेसाको रुपमा कृषिलाई अवलम्बन गरेका छन् । पर्यावरण रक्षाको लागि महतोको नेतृत्वमा भुइँमान्छेहरूको माफियाहरूप्रतिको आक्रोश बढिरहेको छ । 

यसलाई बुझेपछि उनीहरु दोहनलाई न्यूनीकरण गर्न थाले भने कतिपयले त व्यवसाय नै छाडे । यही आक्रोश महतोमाथि बदलाभावमा परिणत भइसकेको थियो । जसको कारण उनी पटकपटक  पटक सांघातिक आक्रमणमा परिसकेका छन् ।

झस्कियो परिवार

बिहानको ५ बजेको हुँदो हो । २०७६ पुस २५ गते भंगाहा नगरपालिकाको झण्डै १० किलोमिटरको दूरीमा क्रसर माफियाहरूले महतोजस्तै पर्यावरण अभियन्ता दिलिप महतोको हत्या गरे ।

अवैधानिक दोहन भएको थाहा भएपछि झिसमिसेमा तस्करहरूलाई रोक्न खोलामा पुगेका महतोलाई टिपरले किचेर निर्ममतापूर्वक हत्या गरियो । यो घटना मधेशमात्र हैन देशैभरि फैलियो, जुन पर्यावरण अभियन्ताहरूको लागि निकै निराश र कालो दिन बन्यो ।

यो घटनापछि हिरालालको परिवारले उनलाई बाहिर आवतजावत गर्न रोक लगायो । तर, उनी लुकिछिपी पहरेदारी गर्न छाडेनन् ।

‘दिलिपलाई मारेको घटनाले मलाई कुनै डर थिएन । पर्यावरण जोगाउने क्रममा मार्छन् भने पनि मारुन् जस्तो लाग्थ्यो,’ उनले भने, ‘परिवारले रोके पनि सक्रियतालाई निरन्तरता नै दिइरहेँ ।’ 

दिलिपको हत्यापछि तस्कर र माफियाहरूको धम्की दिने शैली बदलियो । दिलिपको हत्यालाई देखाएर पुनः महतोलाई डर, त्रास देखाउन थालियो ।

‘धेरै जान्ने नबन दिलिपलाई जसरी नै टिप्पर ज्यानमाथि चढाइदिउँला भन्न थाले,’ उनले भने, ‘अहिले पनि तस्करहरूको धम्की दिने शैली यस्तै छ । तर, मैले सधँै उनीहरूलाई भन्ने गर्छु तिमीहरूको हर चुनौती स्वीकार्य छ । तर, पर्यावरणमाथि अन्याय हुन नदिने संघर्ष जीवनपर्यन्त चलिरहन्छ ।’

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  १६:००
प्रतिक्रिया दिनुहोस्
Weather Update