Odapalika - The Fourth Estate - चौथो अंग
उर्लिए उपत्यकाका नदी र खोला, यस्तो छ देशभरको अवस्था 

काठमाडौँ । आज बिहानैदेखि देशका अधिकांश ठाउँमा वर्षा जारी छ । वर्षाका कारण काठमाडौँ, ललितपुरलगायत देशका विभिन्न ठाउँका नदी तथा खोलाको जलसतह बढ्ने क्रममा छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौंस्थित विष्णुमती नदी जलमापन केन्द्रमा आइतबार बिहान जलसतहले खतरा तह पार गरेको छ ।

ललितपुरको खोड्कु खोला झरुवारासी जलमापन केन्द्रमा आइतबार बिहान जलसतह सतर्कता तह पार गरेको छ । नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले भोलि बिहानसम्मै उच्च सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

काठमाडौंको बूढानीलकण्ठ, कपन, ललितपुरको लेले, गोदावरी, टिकाथली र आसपास पछिल्लो तीन घण्टामा मध्यमदेखि भारी वर्षा भइरहेको विभागले जनाएको छ । धोबीखोला, विष्णुमती नदी, लेले खोला, गोदावरी खोलाको जलसतह बढ्दो क्रममा छ ।

आज वाग्मती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा कोसी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

राति देशभर साधारणतया बदली रहने छ । लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी, वाग्मती, गण्डकी र  सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ ।

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  ०६:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update