Odapalika - The Fourth Estate - चौथो अंग
ताप्लेजुङ पाथीभराको विकल्प बन्दै भेडेटारको पाथीभरा

सुनसरी । सिराहाबाट आएका रामबाबु यादव शनिबार भेडेटारको पाथीभरा मन्दिरमा भेटिए । यो मन्दिरमा पूजा गरेमा मनोकाङ्क्षा पूरा हुने ठानेर आफू दोस्रोपटक आएको उनले बताए ।  

 दुहवी नगरपालिकाका विजयकुमार गौतमले पनि पाथीभरा दर्शन गरे चिताएको पूरा हुने विश्वासका कारण भेडेटार आएको बताए ।

विराटनगरका उमेश साहले परिवारको प्रगति र शान्तिको कामना मन्दिर आएको बताए । ताप्लेजुङको पााथिभर पुग्न केही दिन लाग्छ, ठूलो पाथिभराको झैँ महत्व भएकाले यहीँ पूजा गरेको उनकाे भनाइ छ ।  उक्त मन्दिरमा पूजार्चजना गरेमा मागेको कुरा पूरा हुन्छ भन्ने विश्वासका कारण प्रायः आफू सपरिवार आउने गरेको उनले सुनाए ।

देशका विभिन्न भागका साथै भारतका सिक्किम, दार्जिलिङलगायत स्थानबाट यहाँ भक्तजन आउने गरेका मन्दिरका पुजारी आइतबहादुर लिम्बूले बताए । दैनिक सरदर  दुई सय ५० तथा वार्षिक ५० हजार भक्तजन आउने गरेका उनले बताए ।

यहाँ बिहानदेखि बेलुकासम्म पूजा हुने गरेकाले बेलुकासम्म नै मान्छेको चहलपहल हुने गर्दछ । मन्दिरका कारण कोशी प्रदेशको धार्मिक पर्यटकीयस्थलका रूपमा  भेडेटार विकसित भएको पुजारी लिम्बूले बताए ।

विगतमा देवीको यो मन्दिरमा भेडा–बोकाको बलि दिने गरिएकामा हाल  परेवा उडाउने, फलफूल चढाउने र शृङ्गारका सामग्री चढाउने थालिएको छ । ताप्लेजुङको पाथिभरा मन्दिर पुग्न नसक्नेहरूले यहीँबाट भाकल पूरा गर्ने पुजारी लिम्बू बताउँछन् । 

समुद्र सतहबाट एक हजार चार सय मिटर उचाइमा रहेको देवीको मूर्तिलाई २०५७ सालमा मन्दिर स्थापना गरी पूजा गरिँदै आइएको छ । यो मन्दिरबाट ताप्लेजुङको पाथीभरा  देखिने भएकाले यसलाई सोही मन्दिरको प्रतीक मानेर पूजाआराधना हुने गरेको छ । 

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  १२:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update