Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौं महानगरको छात्रवृत्तिमा २ हजार ८५९ विद्यार्थीको नाम निस्कियो, मंगलबारभित्र भर्ना हुनुपर्ने (सूचीसहित)

काठमाडौँ । काठमाडौं महानगरपालिकाले कक्षा ११ मा अध्ययनका लागि छात्रवृत्तिमा लिइएको परीक्षाबाट पहिलो चरणको मनोनयन सूची सार्वजनिक गरेको हो । जसमा २ हजार ८५९ जना विद्यार्थीको नाम प्रकाशन भएको छ ।

काठमाडौँ महानगरपालिकाले छात्रवृत्ति छनोट समितिको निर्णयअनुसार शनिबार  सूची प्रकाशन गरेको हो । यसको विवरण इमेलबाट विद्यालयहरुलाई पठाइसकिएको छ । यस्तै विद्यार्थीहरुलाई एसएमएस पठाइएको छ । 

यही साउन ४ गते लिइएको परीक्षाको नतिजामा विषयगत र समूहगत योग्यता क्रम, परीक्षार्थीले अनलाइन आवेदन फाराम भर्दा शिक्षण संस्थाहरुमा गरेको प्राथमिकता क्रमअनुसार आरक्षण र समूहगत रुपमा छुट्याइएको सिट संख्याका आधारमा सूची प्रकाशन गरिएको काठमाडौं महानगरले जनाएको छ । 

विद्यार्थीले साउन १५ मंगलबारभित्र भर्ना भइसक्नुपर्नेछ । विज्ञान विषयमा छात्रवृत्तिका लागि लागि १ हजार ७५७ वटा छात्रवृत्ति कोटा उपलब्ध छ । यसमा ८ हजार ४९७ जनाले आवेदन दिए । परीक्षामा ७ हजार ६६५ जना सहभागी भए । ६ हजार ७२० जना उत्तीर्ण भए । उत्तीर्णमध्ये १ हजार ६३७ जनाको नाम पहिलो सूचीमा प्रकाशन भएको छ । 

व्यवस्थापन विषयमा २ हजार ४९३ वटा छात्रवृत्ति कोटा छ । यसका लागि २ हजार ५८१ जना विद्यार्थीले आवेदन दिए । २ हजार ३२८ जनाले परीक्षा दिए । परीक्षार्थीमध्ये १ हजार ३८१ जना उत्तीर्ण भए । 

यस विषयका लागि पहिलो म्याचिङ लिष्टमा १ हजार १४६ जनाको नाम प्रकाशित भएको छ । 

कानुन विषयमा १३६ वटा छात्रवृत्ति कोटा छ । यस विषयका लागि १५३ जनाको आवेदन परेको थियो । १३२ जनाले परीक्षा दिएकोमा ७३ जना उत्तीर्ण भए । उत्तीर्णमध्ये ५३ जनाको नाम प्रकाशित भएको छ । 

मानविकी विषयमा अध्ययनका लागि १७३ वटा छात्रवृत्ति कोटा छ । यसका लागि १३ जनाको आवेदन थियो । आवेदकमध्ये ११ जनाले परीक्षा दिए । यस्तै ८ जना उत्तीर्ण भए । यस विषयका लागि उत्तीर्ण सबैको नाम प्रकाशन भएको छ । 

शिक्षा विषयका लागि ७० वटा छात्रवृत्ति कोटा छ । यसका लागि ३७ जना आवेदकमध्ये ३२ जना परीक्षामा सहभागी भए । १५ जना उत्तीर्ण यस विषयका लागि उत्तीर्ण सबैको नाम प्रकाशित छ । 

छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई आवेदन दिन महानगरपालिकाले असार १५ गते विहान १० बजेबाट अनलाइन आवेदन फाराम खुला गरेको थियो । यस प्रणालीबाट असार २९ गते राती ११ बजेर ५९ मिनेटसम्ममा आवेदन लिइएको थियो । 

प्रणालीबाट ११ हजार ८७१ जना विद्यार्थी आवेदन दिएका थिए । जसमध्ये ११ हजार २८१ जनाको आवेदन स्वीकृत भएको थियो । साउन ४ गते ३८ वटा केन्द्रबाट परीक्षा सञ्चालन भएको थियो । 

साउन ७ गते योग्यता क्रम प्रकाशन भयो । यस नतिजामा चित्त नबुझे पुनर्योग वा दाबी विरोधका लागि साउन १० गतेसम्म समय दिइयो । यस अवधिमा १४३ जनाले पुनर्योगका लागि आवेदन दिएका थिए । यसमध्ये १ जनाको नतिजा परिवर्तन भएको छ ।  

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  १२:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update